सुचना, समाचार र मनोरन्जन

अण्डाको माग र  मूल्य बढ्यो

 

चितवन : प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै जाँदा अण्डाको माग उच्च भएको छ।

 

माग बढेसँगै अण्डाको मूल्य पनि क्रमशः बढ्दै गएको छ। नेपाल लेयर्स कुखुरापालक संघले आजदेखि लागू हुनेगरी अण्डाको मूल्यमा वृद्धि गरेको हो।

 

यसअनुसार ठूलो अण्डा एक क्रेट (३० वटा)को फार्म मूल्य रु चार सय ९५ पुगेको छ।

 

यसअघि प्रतिक्रेट रु चार सय ६५ मा बिक्री गरिएको ठूलो अण्डाको मूल्य रु ३० ले बढेको हो। यस्तै मझौला अण्डाको फार्म मूल्य रु चार सय ७५ कायम गरिएको छ। यसअघि यो अण्डा रु चार सय ४५ मा बिक्री हुँदै आएको थियो।

 

गत मङ्सिरमा अण्डाको मूल्य हालसम्मकै उच्च भएको थियो। तत्कालीन समयमा फार्ममा ठूलो अण्डा रु पाँच सय ६५ प्रतिक्रेटमा बिक्री भएको थियो। मझौलाको रेट रु पाँच सय ५० थियो। संघका अध्यक्ष विनोद पोखरेलका अनुसार नेपालमा निर्वाचनको माहोल बन्नु, निर्वाचनसँगै सीमा क्षेत्रमा भएको कडाइका कारण अण्डाको मूल्यमा वृद्धि भएको हो।

 

अण्डा उत्पादन गर्ने कुखुरामा कमी आउँदा अण्डा उत्पादन कम हुनु, बन्द भएका विद्यालयहरू खुल्नुलगायत कारणले अण्डाको मूल्यमा क्रमिक सुधार आउन लागेको हो। अण्डाको उत्पादन लागत मूल्य प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्न आउँछ।

 

यसलाई हिसाब गर्दा किसानको लागत मूल्य प्रतिक्रेट पाँच सय ७४ रुपैयाँ छ पैसा पर्न आउँछ। लागत मूल्य नजिक पुगेको अवस्थामा पुनः अण्डाको मूल्य घटेपछि किसान निराश बनेका थिए। अब मूल्य बढ्ने आसमा किसान रहेका छन्। संघले बजारको अवस्थाअनुसार अण्डाको समर्थन मूल्य तय गर्दै आएको छ।

Leave A Reply

Your email address will not be published.