पोखरा,
चिनियाँ अटो निर्माता डोङफेङको नामीले दक्षिण अफ्रिकामा आफ्नो नयाँ विद्युतीय एसयूभी ‘नामी 06 E1’ सार्वजनिक गरेको छ । दक्षिण अफ्रिकाको बजारमा प्रवेश गरेको यो मोडल हालसम्मकै सबैभन्दा सस्तो पूर्ण विद्युतीय एसयूभीका रूपमा चर्चामा आएको छ । केही अन्तर्राष्ट्रिय बजारमा भने यही मोडल ‘भिगो’ नामले परिचित छ ।
कम्पनीले यसअघि ‘बक्स’ ह्याचब्याक र ‘007’ प्रिमियम सेडान बजारमा ल्याइसकेको छ भने नामी 06 E1 दक्षिण अफ्रिकामा डोङफेङको तेस्रो मोडल हो ।
यो एसयूभी दुई भेरियन्टमा उपलब्ध हुनेछ । दुवै मोडलमा १२० किलोवाट क्षमताको फ्रन्ट–माउन्टेड मोटर र २३० न्युटन मिटर टर्क रहेको छ । कम्पनीका अनुसार गाडीले शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति लिन करिब ७.८ सेकेन्ड समय लिन्छ ।
नामी 06 E1 को सुरुवाती मूल्य ४ लाख ९९ हजार र्यान्ड तोकिएको छ । यो मूल्य दक्षिण अफ्रिकाको हालसम्मकै सबैभन्दा सस्तो पूर्ण विद्युतीय एसयूभी Geely EX5 भन्दा करिब २ लाख र्यान्ड कम रहेको बताइएको छ ।
गाडीमा ४४.९४ किलोवाट प्रतिघण्टा क्षमताको लिथियम–आइरन–फस्फेट ब्याट्री प्रयोग गरिएको छ । चिनियाँ परीक्षण मापदण्ड अनुसार यसले एक पटकको चार्जमा ४०१ किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीको दाबी छ । विश्वव्यापी WLTP मापदण्ड अनुसार भने यसको रेन्ज करिब ३०० किलोमिटर रहने बताइएको छ ।
यसमा ६० किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सुविधा रहेको छ, जसले ब्याट्रीलाई ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज गर्न करिब ३० मिनेट समय लाग्ने जनाइएको छ ।
उच्च संस्करण E3 मोडलको मूल्य ५ लाख ७९ हजार र्यान्ड तोकिएको छ । यसमा ५१.८७ किलोवाट प्रतिघण्टा क्षमताको ठूलो ब्याट्री जडान गरिएको छ, जसले रेन्जलाई ४७१ किलोमिटरसम्म पुर्याउने कम्पनीको दाबी छ । WLTP मापदण्ड अनुसार भने यसको रेन्ज करिब ३५० किलोमिटर रहनेछ ।
E3 मोडलमा १६७ किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सुविधा दिइएको छ, जसले ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज गर्न केवल १८ मिनेट समय लिन्छ । एसी चार्जिङका लागि भने यसले ६.६ किलोवाटसम्म सपोर्ट गर्ने जनाएको छ ।
यो एसयूभीमा १२.८ इन्चको इन्फोटेन्मेन्ट डिस्प्ले, ८.८८ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, ६-स्पिकर अडियो सिस्टम, वायरलेस फोन चार्जर, रियर–भ्यु क्यामेरा, पार्किङ सेन्सर, अटोमेटिक एयर कन्डिसनिङ तथा ६ वटा एयरब्यागजस्ता आधुनिक सुविधाहरू समावेश गरिएको छ । साथै हिल–स्टार्ट असिस्ट, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, ट्र्याक्सन कन्ट्रोल र ५०० लिटर बुट स्पेस पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ । 06 E1 कालो, सेतो, सिल्भर, सुन्तला र हरियो गरी पाँच रंगमा उपलब्ध हुनेछ ।
दक्षिण अफ्रिकामा डोङफेङ धेरै परिचित चिनियाँ ब्रान्ड नभए पनि यो चीनका चार ठूला सरकारी स्वामित्वका अटो कम्पनीमध्ये एक हो । कम्पनीले हालै निसान मोटर कर्पोरेशनसँग साझेदारी विस्तार गरेपछि अन्तर्राष्ट्रिय बजारमा यसको विश्वसनीयता थप बढ्ने अपेक्षा गरिएको छ ।
पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेका बेला दक्षिण अफ्रिकासहित विश्वभर विद्युतीय सवारीसाधनप्रति आकर्षण बढिरहेको छ । पछिल्ला वर्षहरूमा विभिन्न ईभी मोडल बजारमा आए पनि सर्वसाधारणले सहज रूपमा किन्न सक्ने मूल्यमा आएको यो पहिलो मोडल मानिएको छ ।
कम खर्चमा विद्युतीय सवारी प्रयोग गर्न सकिने सन्देशसहित आएको डोङफेङ नामी 06 E1 दक्षिण अफ्रिकाको ईभी बजारमा बजेटमैत्री विकल्प बन्न सक्ने विश्लेषण गरिएको छ ।