सुचना, समाचार र मनोरन्जन
Pdms

महेन्द्रनगर आँखा अस्पतालमा भारतीय बिरामीको चाप बढ्दो

 

कञ्चनपुर : उत्कृष्ट र सस्तो स्वास्थ्य सेवाका कारण महेन्द्रनगरस्थित नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित आँखा अस्पताल स्वदेशी मात्र नभई सीमावर्ती भारतीय नागरिकका लागि पनि उपचारको प्रमुख गन्तव्य बन्न थालेको छ। गुणस्तरीय सेवा, समान व्यवहार र सुलभ शुल्कका कारण अस्पतालमा सेवाग्राहीको चाप निरन्तर बढिरहेको छ।

 

अस्पतालले गत आर्थिक वर्ष २०७९/८० मा २४ हजार ७८० जनालाई आँखासम्बन्धी उपचार सेवा प्रदान गरेको छ। अस्पतालका नेत्र अधिकृत वीरसिंह धामीका अनुसार उक्त अवधिमा ६३४ जनाको मोतियाविन्दुको सफल शल्यक्रिया गरिएको छ भने पाँच हजार ४१३ जनालाई चश्मा वितरण गरिएको छ।

 

‘हामीले आँखा उपचार सेवालाई गुणस्तरीय र सबैको पहुँचमा पुर्याएका छौँ,’ नेत्र अधिकृत धामीले भन्नुभयो, ‘न्यत्रको तुलनामा हाम्रो सेवा सस्तो छ। हामी स्वदेशी वा विदेशी भनेर कसैलाई विभेद गर्दैनौँ, सबैलाई समान शुल्कमा समान व्यवहारका साथ उपचार गरिन्छ।’

 

यही कारणले अस्पतालमा भारतीय बिरामीको सङ्ख्या उल्लेख्य रूपमा बढेको उहाँको भनाइ छ। गत वर्ष मात्रै अस्पतालमा सेवा लिनेमध्ये एक हजार ६६७ जना भारतीय नागरिक थिए।

 

अस्पतालमा मोतियाविन्दु, आँखामा मासु पलाएको, परेला फर्केको जस्ता समस्याको शल्यक्रिया आधुनिक मेसिनबाटै गरिन्छ। यद्यपि, जलविन्दु र आँखाको नानी प्रत्यारोपण जस्ता जटिल शल्यक्रियाका लागि बिरामीलाई गेटा आँखा अस्पतालमा ‘रेफर’ गर्ने गरिएको छ। हाल अस्पतालमा दैनिक १२० जनासम्म बिरामी उपचारका लागि आउने गरेका छन्।

 

अस्पतालले समुदायस्तरमा समेत आफ्नो सेवा विस्तार गरेको छ। गत आर्थिक वर्षमा विद्यालयमा सञ्चालित ६ वटा शिविरबाट एक हजार ९०० विद्यार्थी तथा स्थानीय तहमा आयोजित शिविरबाट तीन हजार ९०० जनाले निःशुल्क आँखा जाँच सेवा लिएका छन्।

 

२०४२ सालमा आँखा उपचार केन्द्रका रूपमा स्थापित यो संस्था २०७० सालमा १० शय्याको अस्पतालमा स्तरोन्नति भएको थियो। बढ्दो बिरामीको चाप र पुरानो भवनका कारण शल्यक्रिया तथा उपचार सेवा सञ्चालनमा कठिनाइ हुन थालेको छ।

 

‘हामीले नयाँ भवन निर्माणका लागि नगरपालिका र प्रदेश सरकारसँग आग्रह गरेका छौँ। आश्वासन पाए पनि बजेटको टुङ्गो लागेको छैन’, धामीले पूर्वाधारको अभावबारे बताए।

 

हालै फैलिएको आँखा पाक्ने (भाइरल कन्जंक्टिवाइटिस) रोगको सङ्क्रमणबारे सचेत गराउँदै धामीले सर्वसाधारणलाई सफा पानीले नियमित आँखा सफा गर्न, बाहिर निस्कँदा कालो चश्मा वा टोपी प्रयोग गर्न र सङ्क्रमण भइहालेमा तुरुन्त चिकित्सकको सल्लाह लिन आग्रह गरेका छन्।

 

२०३५ सालमा स्थापित नेपाल नेत्रज्योति सङ्घले देशभर २८ वटा आँखा अस्पताल, २२४ आँखा उपचार केन्द्र र ४५ जिल्ला शाखामार्फत वार्षिक ३० लाखभन्दा बढीलाई सेवा तथा तीन लाखभन्दा बढीको शल्यक्रिया गर्दै आएको छ।

Leave A Reply

Your email address will not be published.