टीकापुर : कैलालीका जानकी गाउँपालिका- ५ पहाडीपुरका नारायण जोशीको परिवारको मुख्य आम्दानीको स्रोत सागसब्जी खेती हो। २२ वर्षअघि बुबाले थालेको सागसब्जी खेतीलाई उनले व्यावसायिक रूपमा अघि बढाएका छन्।
रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइले किसानलाई खेतीमा हौसला मात्र होइन व्यावसायिक बन्न सघाएको छ। आयोजनाको सहयोग पाएका किसान खेतीमा प्रविधि र नयाँ सिप सिकेर व्यावसायिक बनेका छन्।
सागसब्जी खेतीमा भविष्य र कमाइ देखेर व्यावसायिक खेती गरिरहेका खप्तड पशुपन्छी तथा कृषि फार्मका सञ्चालक नारायणलाई सिँचाइ आयोजनाको सहयोगले पेशामा टिकिरहन सहज बनाइदिएको छ। उनले तीन बिघामा गोलभेँडा, आलु र लहरे सागसब्जी लगाएका छन्।
‘३० लाख लगानी गरेको हुँ, वार्षिक एक हजार क्विन्टल उत्पादन हुने गरेको छ। सबै खर्च कटाएर मासिक एक लाख पचास हजारदेखि दुई लाखसम्म बचत हुन्छ’ उनले भने। उनको पाँच जनाको परिवार सागसब्जी खेतीमा रमाएको छ। जग्गाको खोजीमा रहेका नारायण आयोजनाले सहयोग गरिरहेकाले आफू थप १० बिघामा सागसब्जीखेती गर्ने योजनामा रहेको बताए। उनले जैविक मलमात्र प्रयोग गरेर खेती गर्दै आएका छन्।
रानी जमरा कुलरिया सिँचाइ आयोजनाको कृषि कार्यक्रम कार्यान्वयन एकाइले किसानलाई बीउबिजन, नयाँ प्रविधिमा अनुदान सहयोग गर्न थालेपछि किसान व्यावसायिक खेतीतर्फ आकर्षित भएका हुन्।
सिँचाइ आयोजनाका कृषि अधिकृत आकृति ठाकुर बाली संरक्षणका लागि खेती गर्नुपूर्व माटोदेखि नै सचेत हुनुपर्नेमा जोड दिन्छिन्। ‘खेती गर्दा माटोको संरक्षणबाटै शुरु गरेमा नारायणजस्तै राम्रो आम्दानी लिन सकिन्छ’, उनी भन्छिन्, ‘किसानले माटो, वातावरण संरक्षणबाटै खेती थाल्नुपर्छ। यसरी ध्यान दिने किसानलाई हामीले बाली संरक्षणमा पनि सघाइरहेका छौँ।’
सिँचाइ आयोजनाका प्रमुख भरत कँडेल आयोजनाको युवा किसानलाई कृषिमा प्रेरित गर्ने नीति भएको बताउँछन्। ‘यसरी प्रेरणादायी रूपमा काम गर्ने किसानलाई टेको लगाउने काम आयोजनाले गरिरहेको छ’, उनी भन्छिन्, ‘कृषिमा जोशी परिवारको सफलता देख्दा खुसी लागेका छ।’
सागसब्जीखेतीलाई पेशा बनाएर युवा पुस्तालाई पनि त्यसमा नै रमाउन अभिप्रेरित गरिरहेका किसान नारायणका बुबा प्रेमप्रसाद जोशी दुई साताअघि राष्ट्रपति रामचन्द्र पौडेलबाट पुरस्कृत भएका थिए।