सुचना, समाचार र मनोरन्जन

तरकारीखेतीबाट बराहक्षेत्रका किसान आत्मनिर्भर

 

सुनसरी : सुनसरीको बराहक्षेत्र नगरपालिका क्षेत्रमा व्यावसायिक तरकारीखेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । एक समय बाँझै रहने बारी अहिले हराभरा तरकारीबारीमा परिणत भएका छन् भने किसान आफ्नै गाउँमा बसेर मनग्य आम्दानी गर्दै आत्मनिर्भरतातर्फ उन्मुख भएका छन् ।

 

बिहान घाम नउदाउँदै किसान काँक्रो, गोलभेँडा, बोडी, घिरौँला, कोभीलगायत तरकारी टिप्न बारीमा पुगिसकेका हुन्छन् । उत्पादन भएका तरकारी धरान, इटहरी, इनरुवा, बराहक्षेत्र तथा आसपासका बजारमा बिक्री हुने गरेको छ ।

 

 

बराहक्षेत्र नगरपालिका–७ का दिनेश राजवंशी विगत ६ वर्षदेखि करिब दुई बिघा जमिनमा व्यावसायिक तरकारीखेती गर्दै आएका छन् । तीन वर्ष विदेश बसेर फर्किएका उनले अहिले आफ्नै गाउँमा बसेर तरकारीखेतीबाट पर्याप्त आम्दानी गरिरहेका छन् ।

 

‘विदेशमा निकै दुःख गरेर कमाएको पैसाले घरखर्च धान्नै कठिन हुन्थ्यो, अहिले परिवार सबै मिलेर साथमा तरकारीखेती गरिरहेका छौँ । मिहिनेत गर्न सके आफ्नै देशको माटोमा पनि राम्रो आम्दानी गर्न सकिँदोरहेछ’, उनले भने । तरकारी बिक्रीबाट घरखर्च सहज रूपमा चलिरहेको छ भने मासिक ७० हजारभन्दा बढी बचत गर्न सफल भएको राजवंशी बताउँछन् ।

 

 

सोही ठाउँका नितु राजवंशी र रमेश राजवंशी दम्पतीले तीन बिघा जमिनमा व्यावसायिक तरकारीखेती गरिरहेका छन् । उनीहरूले काँक्रो, बोडी, घिरौँला, कोभी, गोलभेँडालगायत मौसमी तरकारी उत्पादन गर्दै आएका छन् । नितु राजवंशीका अनुसार विगतमा मकै र कोदोखेतीबाट परिवारको खाद्यान्न आवश्यकता मात्र पूरा हुन्थ्यो । तरकारीखेती सुरु गरेपछि भने यहाँबाट राम्रै आम्दानी हुने गरेको उनले बताए ।

 

‘पहिले बारी बाँझो थियो, अहिले तरकारीखेतीले धेरै राम्रो भएको छ । मौसमले साथ दिएमा र सिँचाइ तथा मल व्यवस्थापन राम्रो भए वार्षिक सात लाखदेखि आठ लाखसम्मको तरकारी मज्जाले बिक्री गर्न सकिन्छ’, राजवंशी दम्पती भन्छन् ।

 

त्यसैगरी, बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका युक्ति चौधरीले चार बिघा जमिनमा मौसमी तरकारीखेती गर्दै आएकी छिन् । ६ वर्षअघि एक कट्ठा जमिनबाट सुरु गरिएको खेती अहिले विस्तार भएर वार्षिक १० लाखभन्दा बढी आम्दानीको स्रोत बनेको छ ।

 

‘रीतिका कृषि फार्म’ सञ्चालन गर्दै आएकी चौधरीले परिवारको साथ र निरन्तर मिहिनेतले व्यवसाय विस्तार गर्न सफल भएको बताइन् । ‘काम गर्न सकुन्जेल खेतीलाई निरन्तरता दिन्छु । परिवारको साथ छ, मिहिनेत गर्नसके कृषि क्षेत्रमै राम्रो सम्भावना रहेछ’, उनले भनिन् ।

 

चौधरीले पालेका गाईगोरु र बाख्राबाट प्राप्त गोबरलाई जैविक मलका रूपमा प्रयोग गर्दै आएकी छिन् । यसले उत्पादनलाई स्वस्थ र गुणस्तरीय बनाउन मद्दत पुगेको उनको भनाइ छ । तरकारी बिक्रीका लागि बजारको समस्या छैन । व्यापारीहरू आफैँ फार्ममा पुगेर तरकारी खरिद गरेर लाने गरेको उनले बताइन् ।

 

‘हामी बजार मूल्यभन्दा प्रतिकिलो करिब १० कममा तरकारी दिन्छौँ, व्यापारीहरू फार्ममै आउने भएकाले बजारको झन्झट हुँदैन’, उनले भनिन् ।

 

सुनसरी कृषि ज्ञान केन्द्रका सूचना अधिकारी प्रवीनलाल श्रेष्ठले बराहक्षेत्रसहित जिल्लाका विभिन्न ग्रामीण क्षेत्रमा तरकारीखेती प्रवर्द्धनका लागि विविध कार्यक्रम सञ्चालन भइरहेको बताए । उनका अनुसार केन्द्रले किसानलाई अनुदान, उन्नत बीउ, सिँचाइ उपकरण, माटो परीक्षण, मल तथा विषादी व्यवस्थापनसम्बन्धी तालिमलगायत प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ । आधुनिक तरकारीखेतीले धेरै किसानलाई आत्मनिर्भर बनाउन सहयोग पुगेको छ । उनले भने, ‘उत्पादन वृद्धि, बजार पहुँच र आम्दानी विस्तारमा सकारात्मक प्रभाव देखिएको छ ।’

 

श्रेष्ठका अनुसार तरकारी भण्डारण, कीट प्रकोप, बजार व्यवस्थापन तथा मौसमजन्य समस्याको समाधानका लागि कृषि ज्ञान केन्द्रले निरन्तर परामर्श सेवा प्रदान गर्दै आएको छ । बराहक्षेत्रका किसानले उत्पादन गरेका तरकारी धरान कृषि उपज बजार, इटहरी, इनरुवा, बराहक्षेत्र तथा काराबन्जरलगायतका स्थानीय बजारमा बिक्री हुने गरेका छन् । किसानका अनुसार बिक्रीका लागि बजारको अभाव छैन । सरकारी अनुदान, विभिन्न सङ्घसंस्थाको सहयोग तथा डिजिटल मार्केटिङको बढ्दो प्रयोगले व्यावसायिक तरकारीखेतीलाई थप सहज बनाएको छ ।

 

तरकारीखेतीबाट राम्रो आम्दानी हुन थालेपछि बराहक्षेत्रका किसान विदेश पलायनभन्दा आफ्नै गाउँघरमा श्रम र सीप लगानी गर्न उत्साहित देखिएका छन् । यसले ग्रामीण क्षेत्रमा रोजगारी सृजना गर्नुका साथै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा समेत टेवा पुगेको छ ।

 

अहिले बराहक्षेत्र नगरपालिकामा अधिकांश किसान बारीमा तरकारी उत्पादन गर्दै, स्थानीय हाटबजारमै बिक्री गरी राम्रो आम्दानी गरिरहेको बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले बताए ।

Leave A Reply

Your email address will not be published.