काठमाडौं :
नेपाली फिल्महरु विदेशी सिन चाहिने विदेशमै खिच्ने गरेका छन्। तर, हलिउडको एक फिल्म निर्माण टिमले उतै कृतिम नेपालको सिन तयार पारेर फिल्म खिचिरहेको छ। सुन सेटको अहिले नेपालमा चर्चा चलिरहेको छ। लियाम निसन स्टारर हलिउडको ब्लकबस्टर फिल्म ‘आइस रोड २’ को छायांकन अष्ट्रेलियाको भिक्टोरियास्थित वालहल्ला भइरहेको छ ।
जहाँ कथावस्तु र सेटिङ पूरै नेपालको देखाउन खोजिएको छ। नेपालको नक्कली भूगोल र घरहरुको सेट खडा गरेर हलिउड फिल्मको सुटिङ सुरु भइरहेको विदेशी सञ्चारमाध्यमले जनाएका छन्। फिल्मको मुख्य कथावस्तु चाहिं कोदारी (अरनिको) राजमार्ग र बाह्रबिसे आसपासको हो ।
सुटिङ सेटमा वालहल्ला भन्ने ठाउँका सबै घरमा रङ पोतेर नेपालको जस्तै बनाइएको छ। ‘नेपाल पुलिस’ भन्दै नेपाल प्रहरीको भ्यान पनि राखिएको छ । अर्को एक फोटोमा दरबाङ फ्रेस हाउस तथा तरकारी पसल भनिएको छ । दरबाङ म्याग्दीको गाउँको नाम हो । फिल्ममा भने कोदारी भन्दै दरबाङ लेखिएको छ । भेराइटी म्यागजिनका अनुसार सन् २०२१ को हिट फिल्म ‘द आइस रोड’को यो दोस्रो श्रृंखला हो ।