सुचना, समाचार र मनोरन्जन

फिर्केखोला अपडेटः २ दिनमा ५१ संरचना हटाइयो

पोखरा,

पोखराको फिर्के अतिक्रमण हटाउने अभियान अन्तर्गत २ दिनमा ५१ वटा संरचनामा डोजर चलेको छ । महानगरले खोलाघर खाली गर्ने अभियान आइतबार देखि सुरु गरेको हो । पहिलो र दोस्रो दिन गरी साना–ठुला गरी ५१ वटा संरचनाहरू हटाइएको महानगरपालिकाले जनाएको छ ।

दोस्रो दिन सोमबार मात्रै ३१ वटा संरचना हटाइएको छ । जसमध्ये वडा नम्बर १८ र २ को सिमानामा ६ वटा, वडा नम्बर ४ र ५ मा ९ वटा संरचना भत्काइएका छन् । त्यस्तै, वडा नम्बर ८ मा रहेको राधाकृष्ण सामुदायिक भवनसहित १५ वटा संरचनाहरू हटाइएको छ ।

महानगरका अनुसार, अभियानमा ३ वटा जेसीबी र २ वटा एक्स्काभेटर प्रयोग भइरहेका छन् भने नेपाल प्रहरी, सशस्त्र प्रहरी, महानगर प्रहरी र प्राविधिक गरी ४ सय ३४ जना जनशक्ति फिल्डमा खटिएका छन् । ‘खोलाको प्राकृतिक बहावलाई सुचारु बनाउने र अतिक्रमण हटाउने उद्देश्यले सुरु गरिएको यो अभियानमा हालसम्म स्थानीयबासी, जनप्रतिनिधि र सुरक्षा निकायको व्यापक साथ मिलेको छ,’ मेयर धनराज आचार्यले भने । धेरैले संरचना हटाउँदा निस्कने भग्नावशेष वा सामग्रीले खोलाको बहाव अवरुद्ध हुन सक्ने जोखिमप्रति चासो दिएका छन् ।

त्यस्ता सामग्रीलाई तत्कालै खोलाबाट हटाउन थालिएको मेयर आचार्यले जानकारी दिए । महानगरले अधेरीकुनादेखि प्राविधिक टोली र एक्साभेटरसहितको टोलीलाई खटाएको छ । भग्नावशेषले खोलाको प्राकृतिक बाटोमा अवरोध गरे उक्त टोलीले तत्काल व्यवस्थापन गर्दै खोलाको बाटो खुला गराउने व्यवस्था मिलाएको उनको भनाई छ ।

फिर्केखोलाको खोलाघर पूर्ण रूपमा खाली गरिसकेपछि यसलाई एक आकर्षक पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने उनले सुनाए । ‘हामी यसलाई खोलाको रूपमा मात्र होइन, साइकल लेन, फुटपाथ, हरियाली प्रवद्र्धन र आधुनिक लाईटिङसहितको सुरक्षित करिडोरको रूपमा विकास गर्नेछौं,’ उनले भने । महानगरले काम भैरहेको ठाउँमा नजिक गएर काममा अवरोध नगर्न आग्रह गरेको छ ।

Leave A Reply

Your email address will not be published.