सुचना, समाचार र मनोरन्जन

फिस्टेल मोडेल युनाइटेड नेसन्स FMUN 3.0 सम्पन्न, ८ सय विद्यार्थीले विश्वव्यापी मुद्दामा बहस गरे

पोखरा,

पोखराको फिस्टेल एकेडेमी आईबी वल्र्ड स्कुलको आयोजनामा तीन दिनसम्म सञ्चालित ‘फिस्टेल मोडेल युनाइटेड नेसन्स–एफएमयूएन ३.०’ सम्पन्न भएको छ।

कार्यक्रममा काठमाडौं, हेटौँडा, दाङ, सुर्खेत, कुश्मा, तनहुँ र पोखरालगायत विभिन्न स्थानका ३० विद्यालयबाट करिब ८ सय विद्यार्थी सहभागी भएका थिए। विद्यार्थीहरूलाई संयुक्त राष्ट्रसंघअन्तर्गतका २४ वटा विभिन्न समितिमा विभाजन गरी विश्वव्यापी समसामयिक चुनौती, समस्या र समाधानका उपायबारे बहस तथा छलफल गराइएको थियो।

समापन समारोहमा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) गण्डकी–लुम्बिनीका प्रमुख सुदीप अर्यालले यस्ता अभ्यासले विद्यार्थीमा तार्किक सोच, विश्लेषण क्षमता र आफ्ना विचार स्पष्ट रूपमा प्रस्तुत गर्ने सीपको विकास गर्ने बताए।

कृत्रिम बौद्धिकता (एआई) ले धेरै प्रश्नको उत्तर दिन सक्ने अवस्थामा मानिसको महत्वपूर्ण क्षमता सही प्रश्न सोध्न सक्ने हुनु पर्ने उनको भनाइ थियो। उनले युवाहरूलाई स्थापित धारणामाथि प्रश्न गर्न र समस्यालाई पहिलो सिद्धान्तबाट हेर्न आग्रह गरे।

“अब प्रश्न प्रविधि कसरी प्रयोग गर्ने भन्ने होइन, यसबाट कुन समस्या समाधान गर्न सकिन्छ भन्ने हुनुपर्छ,” अर्यालले भने। नेपाल प्रविधिको उपभोक्ता मात्र नभई सिर्जनाकर्ता बन्नुपर्नेमा जोड दिँदै उनले ‘डिजिटल नेपाल’बाट ‘इन्टेलिजेन्ट नेपाल’तर्फ अघि बढ्नुपर्ने बताए।

उनले प्रविधि र आर्थिक विकाससँगै मानव विकासलाई प्राथमिकतामा राख्दै समावेशी तथा दिगो समाज निर्माण गर्नुपर्नेमा जोड दिए। भावी पुस्तालाई अझ राम्रो संसार हस्तान्तरण गर्नु सबैको जिम्मेवारी रहेको उनको भनाइ थियो।

कार्यक्रममा सम्बन्धित विषय क्षेत्रका विज्ञहरूले विद्यार्थीहरूलाई विभिन्न विषयमा सहजीकरण गरेका थिए। तीन दिनसम्म चलेको बहसमा विद्यार्थीहरूले विश्वव्यापी चुनौती र सम्भावित समाधानका विषयमा आफ्ना धारणा प्रस्तुत गरेका थिए।

समापन समारोहमा प्रत्येक समितिबाट उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। प्रत्येक समितिबाट ‘बेस्ट डेलिगेट’, ‘आउटस्ट्यान्डिङ डेलिगेट’, ‘अनरेबल मेन्सन’ र ‘बेस्ट रिपोर्टर’ गरी चार विधामा विद्यार्थी पुरस्कृत भएका थिए।

प्रमुख अतिथि अर्यालले विजयी विद्यार्थी तथा कार्यक्रमका सहजकर्ता चियर र भाइस चियरलाई प्रमाणपत्र तथा पुरस्कार वितरण गरेका थिए। समारोहमा अस्ट्रेलियन क्याथोलिक युनिभर्सिटीलगायत विभिन्न शैक्षिक संस्थाका प्रतिनिधिको समेत उपस्थिति थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष चिनु रानाभाटले सहभागीलाई स्वागत गर्दै आगामी दिनमा एफएमयूएनलाई अझ फराकिलो बनाउँदै देशव्यापी रूपमा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे।

विद्यार्थीद्वय कृषा रानाभाट र सुदिना गुरुङले सञ्चालन गरेको समापन समारोहमा पोखराका विभिन्न स्थानीय ब्यान्डको सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई थप मनोरञ्जनात्मक र स्मरणीय बनाएको थियो।

 

Leave A Reply

Your email address will not be published.