पोखरा,
आगामी सेप्टेम्बर २३ देखि सुरु हुने पोखरा–दुबई अन्तर्राष्ट्रिय हवाई सेवा प्रवर्द्धनका लागि पोखरा महानगरपालिका र फ्लाईदुबईबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।
सेवाको प्रवर्द्धन तथा सार्वजनिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले भएको समझदारीपत्रमा गत अगस्ट २७ गते पोखरा महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मनहर कडरिया र फ्लाईदुबईको नेपालस्थित जनरल सेल्स एजेन्ट (जीएसए) युनिभर्सल टुर्स एन्ड ट्राभल्स प्रालिका अध्यक्ष परासर प्रसाईले हस्ताक्षर गरेका हुन्।
समझदारी एक महिनाका लागि लागू हुने जनाइएको छ। प्रारम्भिक प्रवर्द्धन अभियानअन्तर्गत पोखरा–दुबई हवाई सेवाबारे सर्वसाधारण तथा पर्यटन व्यवसायीबीच जानकारी र पहुँच विस्तारमा जोड दिइनेछ।
पोखरा–दुबई नियमित अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालनमा आएपछि पोखराको अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार हुनुका साथै पर्यटन, व्यापार तथा आर्थिक गतिविधिमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।
महानगरपालिका र फ्लाईदुबईले प्रारम्भिक प्रवर्द्धन अभियानपछि पनि पर्यटन प्रवर्द्धन, गन्तव्य बजारीकरण तथा अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारलगायत पारस्परिक हितका क्षेत्रमा सहकार्यलाई निरन्तरता दिन सक्ने समझदारीसमेत गरेका छन्।