सुचना, समाचार र मनोरन्जन

चुनावी नतिजा अनुकूल नआएपछि राजीनामा दिने कांग्रेस सभापति थापाको मनस्थिति

काठमाडौँ,

प्रतिनिधिसभा सदस्य चुनावमा अपेक्षित नतिजा ल्याउन नसकेपछि नेपाली कांग्रेसभित्र नेतृत्व र अबको रणनीतिबारे बहस शुरू भएको छ ।

चुनावी नतिजाको समीक्षा, पार्टीले थोरै क्षेत्र मात्र जित्नु र समग्र हारको नैतिक जिम्मेवारी लिँदै सभापति गगन थापाले पदबाट राजीनामा दिने मनस्थिति बनाउनुभएको छ ।

हिजो बेलुका सभापति थापा र उपसभापति विश्वप्रकाश शर्माबीच नयाँ बानेश्वरमा भएको छलफलमा थापाले पार्टीको पराजयको जिम्मेवारी आफूले लिनुपर्ने धारणा व्यक्त गर्दै पद छोड्ने तयारीबारे जानकारी गराउनुभएको थियो । तर उपसभापति शर्माले तत्काल राजीनामा दिनु समस्याको समाधान नहुने भन्दै थापालाई नेतृत्वमै रहेर पार्टीलाई पुनर्गठनतर्फ अघि बढाउन सुझाव दिनुभएको छ ।

शर्माका अनुसार चुनावी मतपरिणामलाई केवल एक व्यक्तिको कमजोरीका रूपमा लिनु उपयुक्त नहुने र समग्र राजनीतिक परिस्थिति तथा संगठनात्मक अवस्थाको समीक्षा आवश्यक छ ।

गएको पुस २७ देखि ३० गतेसम्म काठमाण्डौमा भएको विशेष महाधिवेशनबाट थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन भएको थियो । तर चुनावमा कांग्रेसले अपेक्षित सफलता हासिल गर्न सकेन ।

प्रत्यक्षतर्फ पार्टीले जम्मा १८ सिट जितेको छ भने समानुपातिकतर्फ पनि झन्डै १६÷१७ प्रतिशत मत मात्रै प्राप्त हुने प्रारम्भिक आँकलन छ । यसले पार्टीभित्र असन्तुष्टि बढाएको छ ।

सभापति थापा स्वयम् पनि सर्लाही–४ बाट पराजित हुनुभयो । सभापति भएलगत्तै थापाको हारले उहाँको झन्डै १८ वर्ष लामो संसदीय यात्रामा विराम लागेको छ । साथै पार्टीका महामन्त्रीद्वय गुरुराज घिमिरे र प्रदीप पौडेलसहित अन्य केही शीर्ष नेताहरू पनि चुनावमा पराजित भएका छन ।

Leave A Reply

Your email address will not be published.