सुचना, समाचार र मनोरन्जन

पोखरामा शेर्पा समुदायको ग्याल्पो ल्होसार फागुन पहिलो साता हुने

पोखरा,
आगामी फागुन पहिलो साता पोखरामा ग्याल्पो (शेर्पा) ल्होसार २०८२ उत्सव हुने भएको छ । पोखराको अन्तर्राष्ट्रिय पर्वत संग्रहालयमा फागुन ६ गते देखि ८ गतेसम्म उक्त उत्सव हुने भएको हो ।

उक्त उत्सवमा परम्परागत शेर्पा साँस्कृतिक प्रस्तुतिहरु, शेर्पा खानाका परिकार तथा हस्तकलाको प्रदर्शनी, साँस्कृतिक अनुष्ठान तथा दिगो पर्यटन र पर्वतीय सम्पदासम्बन्धी अन्तरक्रियात्मक कार्यक्रमहरु समावेश हुने आयोजकले बताएको छ । मेडीकनेक्ट पोखरा तथा आइसीपीडी नेपालको आयोजना, नेपाल पर्वतारोहण संघ, शेर्पा पर्यटन उद्यमी संघ नेपाल,म्याजेस्टिक पीक एडभेन्र्चस, ट्रेक एन्ड एक्सपीडीसन लगायतका संस्थाहरुको सहकार्यमा उक्त उत्सवको आयोजना गर्न लागिएको आयोजक आइपीडीसी नेपालका अध्यक्ष डा. विष्णु भुसालले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष भुसालले पोखरामा पहिलो पटक ग्याल्पो ल्होसार उत्सव हुन लागेको उल्लेख गरे । ग्याल्पो ल्होसार उत्सवले पोखराको साँस्कृतिक तथा पर्यटन पहिचानमा महत्वपूर्ण उपलब्धि थप्ने बताउँदै यस्ता उत्सवले पोखरालाई कार्यक्रम र गतिविधिको सहर को रुपमा प्रवद्र्धन गर्न टेवा पुर्याउने अध्यक्ष भुसालले विश्वास व्यक्त गरे ।ग्याल्पो ल्होसार केवल शेर्पा समुदायको नयाँ वर्ष मात्र नभई, प्रकृतिसगँको सामञ्जस्य, सहनशीलता र साँस्कृतिक निरन्तरताका मुल्यको प्रतीक भएको आयोजकको भनाई छ । पोखरामा तीन दिनसम्म सञ्चालन हुने ग्याल्पो ल्होसार उत्सव आयोजनाले शेर्पा समुदायले पर्वतारोहण र नेपालको विश्वव्यापी पर्यटन प्रतिष्ठामा पुर्याएको योगदानको सम्मान भएको आयोजकको भनाई छ ।

फेब्रुअरी महिनाको ‘शोल्डर सिजन’ मा आयोजना हुने यस उत्सवले इभेन्ट आधारित पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ । ग्याल्पो (शेर्पा) ल्होसार उत्सवलाई भविष्यमा पोखराको वार्षिक प्रमुख साँस्कृतिक कार्यक्रमको रुपमा विकास गर्ने आयोजकको दीर्घकालीन लक्ष्य रहेको पत्रकार सम्मेलनमा बताइयो । शेर्पा समुदायको खाना, कला संस्कृति विश्व सामु पहिचान गराउन पनि पोखरामा उक्त उत्सव पहिलो पटक आयोजना गर्न लागिएको समन्वयकर्ता पेम्बा (संगम) शेर्पाले बताए । हिमाल आरोहणको क्षेत्रमा शेर्पा समुदायको पुरुयाएको योगदान स्मरणीय भएको उनको दाबी छ । ८ हजार मिटर भन्दा अग्ला अग्ला हिमाल आरोहण गर्ने कान्छा शेर्पा, कलाकार शेर्पा लगायतकाको कार्यक्रममा उपस्थिती हुने भएको संगमले जनाए ।

Leave A Reply

Your email address will not be published.