पोखरा,
पोखरा प्रज्ञा प्रतिष्ठानले असोज १० गते आयोजना गर्ने तयारी गरेको सांस्कृतिक कार्यक्रम ‘गन्धर्व गुञ्जन’ प्रतिकूल मौसमका कारण स्थगित गरेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले बङ्गालको खाडीमा विकसित गहिरो न्यूनचापीय प्रणालीका कारण अतिवृष्टि भई बाढीपहिरोको जोखिम बढ्न सक्ने प्रक्षेपण गरेपछि कार्यक्रम स्थगित गरिएको प्रतिष्ठानले जनाएको छ। पोखरा समेत ‘रेड अलर्ट’ क्षेत्रमा परेको र निरन्तर वर्षाका कारण कार्यक्रम सञ्चालनका लागि अनुकूल वातावरण नरहेको प्रतिष्ठानको भनाइ छ।
कार्यक्रमको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगे पनि टाढाटाढाबाट आउने गन्धर्व कलाकार, अतिथि तथा दर्शकहरूको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै कार्यक्रम सार्ने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ।
स्थगित कार्यक्रम अब असोज २५ गते घटस्थापनाका दिन थप व्यवस्थित र प्रभावकारी रूपमा आयोजना गरिने भएको छ।
पोखरा प्रज्ञा प्रतिष्ठानकी कुलपति सरस्वती प्रतीक्षाले कार्यक्रमप्रति दर्शक तथा शुभेच्छुकले देखाएको उत्साह र आत्मीयताप्रति आभार व्यक्त गर्दै नयाँ मितिमा अझ व्यवस्थित र प्रभावकारी कार्यक्रम प्रस्तुत गरिने बताएकी छन्।
गन्धर्व समुदायको मौलिक सारङ्गी, गायन, कला, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धन गर्दै नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले ‘गन्धर्व गुञ्जन’ आयोजना गर्न लागिएको हो।
प्रतिष्ठानले कार्यक्रम स्थगनका कारण पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै कलाकार, अतिथि, दर्शक तथा शुभेच्छुकबाट निरन्तर साथ र सहयोगको अपेक्षा गरेको छ। साथै, प्रतिकूल मौसमका कारण उत्पन्न हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सबैलाई सुरक्षित रहन र उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।