काठमाडौं :
नेपाली मौलिक गीत–संगीत क्षेत्रमा सक्रिय सर्जक गणेश गुरुङले नयाँ कौडा र चुड्का गीत ‘पियारी’ सार्वजनिक गरेका छन्। गण्डक क्षेत्रको पहिचान बोकेको रैथाने भाकालाई संरक्षण गर्ने उद्देश्यसहित गीत सार्वजनिक गरिएको हो।
गीतमा गणेश गुरुङसँगै तेजेन्द्र दुरा र मनाङ गुरुङको स्वर रहेको छ भने शब्द गणेश गुरुङकै रहेको छ। संगीत संयोजन चन्द्र गुरुङ ९केवरपानी० र गोरा बाजे ९तोरेन०ले गरेका छन् भने एरेन्ज तेजेन्द्र दुराले गरेका हुन्।
‘पियारी’ विशेषगरी गोरखा र तनहुँ आसपासका क्षेत्रमा प्रचलित रैथाने चुड्का भाका हो। गण्डक क्षेत्रमा बसोबास गर्ने गुरुङ, मगर, दुरा र दराई समुदायमा यो भाका लोकप्रिय मानिन्छ।
सांस्कृतिक परम्पराअनुसार चुड्का गीतको गायन वैशाख पूर्णिमाबाट सुरु हुने चलन छ। क्षेत्रअनुसार सती घाटु र चुड्का भाकाबीच गहिरो सम्बन्ध रहने गर्दछ, जसलाई यस गीतले उजागर गर्ने प्रयास गरेको छ।
“व्यावसायिक लाभभन्दा पनि पुर्खाले जोगाएका रैथाने धुनहरू ओझेलमा नपरून् भन्ने उद्देश्यले ‘पियारी’ ल्याएको हुँ,” गायक गुरुङले बताएका छन्। मौलिक कौडा गीतलाई अवार्ड दिने परम्पराअन्तर्गत ‘राप्ती म्युजिक अवार्ड’ जितेका गुरुङलाई स्रोता–दर्शकले ‘कौडा किङ’को उपाधिसमेत दिएका छन्।
मनाङ गुरुङको निर्देशन तथा कोरियोग्राफीमा तयार भिडियोमा हितमान गुरुङ, सुस्मिता गुरुङ, अन्जु गुरुङ र गणेश गुरुङ स्वयंको अभिनय रहेको छ। करण चैसिरले छायांकन गरेको भिडियोलाई विष्णुहरि तिमल्सिनाले सम्पादन गरेका हुन्।
यसअघि ‘सल्ला धुपैले’, ‘गोरखा मनकामना’ र ‘गोगनपानीमा’ जस्ता गीतमार्फत दर्शकमाझ पहिचान बनाएका गुरुङको नयाँ प्रस्तुतिले मौलिक संस्कृति प्रेमीलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।