काठमाडौं :
शुक्रबार रौतहटको मौलापुर नगरपालिकामा निकै रौनक छाएको थियो। कहिल्यै त्यत्रो मान्छे जम्मा नभएको त्यो ठाउँमा शुक्रबार भने मान्छेहरुको भिडम भिड थियो। शिवरात्रीको अवसरमा आयोजित मधानी महोत्सवमा बलिउड अभिनेता गोविन्दाले संगीत तथा नृत्य प्रस्तुति दिन आएपछिको त्यो थामी नसक्नुको भिड हो। उनले आफ्नो केहि प्रस्तुतिहरु दिए। सीमावर्ती विहारको पटना हुँदै नेपाल आएका उनले महोत्सवमा मनोरञ्जन उपस्थित सबैलाई गराउन सफल भए।
नगरपालिकालाई विश्व सम्पदा स्थलको रुपमा विकास गर्ने उद्देश्यले आयोजित उक्त महोत्सवमा गोविन्दा विशेष पाहुनाका रुपमा सहभागी थिए । उनले त्यहाँ आफू अभिनित चर्चित बलिउड फिल्मका गीत मात्र गाएनन। उनले नाचेर र संस्कृतका श्लोक पाठ गरेर सबैलाई अचम्ति तुल्याए।
गोविन्दा आउने भनेपछि एक साता अघिबाट नगरपालिकाले सरसफाई अभियान नै चलाएको थियो। नगरपालिकाले सरसफाई र पानी, बिजुली र जमिनको कर नलिने, स्कुल जाने किशोरीलाई साइकल र ल्यापटप दिने तथा विवाहमा केटीलाई आर्थिक सहायता प्रदान गर्ने निर्णयप्रति गोविन्दाले नगरप्रमुखको खुलेर प्रशंसा गरे । उनले नगरप्रमुख रीनाकुमारी साहलाई उक्त अवसरमा यो जनमुखी कार्यका लागि बधाई तथा शुभकामना समेत दिदै दुई हजार वर्ष पुरानो मानिने मधानीलाई विश्व सम्पदाको रुपमा विकास गर्ने कार्यमा आफूले सघाउने वचन दिए।
नेपालका चर्चित उदघोषक तथा फिल्म निर्देशक समेत रहेका डिनेश डिसीले सञ्चालन गरेको उक्त महोत्सवमा नेपालका तर्फबाट अभिनेता पल शाह, भोजपुरी अभिनेत्री नीलम गिरी र गायक प्रेम परियारको उपस्थिति रहेको थियो। उनीहरुले पनि आफ्ना चर्चित गीतहरुमा नाचेर प्रस्तुति दिए । डीसीका अनुसार उक्त अवसरमा महोत्सवमा सहभागीसँग भलाकुसारी समेत गरेका गोविन्दा शनिबार भारत फर्किनेछन्।