मुम्बई ।
बलिउडका ९० को दशकका चर्चित अभिनेता र हास्य सुपरस्टार गोविन्दाले पुनः चलचित्रमा फर्किने संकेत दिएका छन्। लामो समयदेखि पर्दाबाट टाढा रहेका उनले हालै मुम्बईमा आयोजित एक कार्यक्रममा आफ्नो नयाँ फिल्म प्रोजेक्टको तयारी भइरहेको बताएका छन्।

कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै गोविन्दाले भने,‘फ्यानहरूले मसँग नयाँ फिल्म कहिले आउँछ भनेर सोधिरहेका छन्। म चाँडै एउटा विशेष प्रोजेक्टसहित फर्किँदैछु।’
हालसम्म फिल्मको नाम, निर्माता वा सह–कलाकारबारे औपचारिक जानकारी दिइएको छैन। तर बलिउड भित्र चर्चा छ । यो प्रोजेक्टले गोविन्दालाई पुनः कमेडी जनरमा सशक्त रूपमा पुनर्स्थापित गर्न सक्छ।
गोविन्दा पछिल्लो पटक ‘फ्राइडे’ (२०१८) र ‘रेंजिला राजा’ (२०१९) मा देखिएका थिए। त्यसपछि उनले केही टेलिभिजन शोमा पाहुना कलाकारको रूपमा सहभागिता जनाए पनि ठूला पर्दामा सक्रिय थिएनन्। फ्यानहरूले सामाजिक सञ्जालमा उनको कमब्याकलाई ‘९० को जादु फर्किने संकेत’ भनेर स्वागत गरेका छन्।