काठमाडौं : राष्ट्रियसभामा नेकपा (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्की आछामीले सरकारप्रति जनताले हेर्न दृष्टिकोण नकारात्मक रहेको भन्दै नसच्याए देश दुर्घटनाको नजिक भएको चेतावनी दिएका छन्।
आइतवार राष्ट्रियसभा बैठकमा सरकारको आर्थिक वर्ष २०८२।०८३ को नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले असन्तुष्टि व्यक्त गरेका हुन्। उनले विगतका सरकारले निरन्तरता दिएको दलितसँग सम्बन्धित कतिपय विषय सरकारको नीति तथा कार्यक्रमबाट हटाइएकोमा असन्तुष्टि जनाएका छन्।
उनले शक्तिशाली र अधिकार सम्पन्न दलित प्राधिकरण गठन गर्ने दलितसँग सम्बन्धित विषयको बुँदा नम्बर २१३ हटाउनु गलत भएको बताए। उनले सबैतिर आर्थिक समस्या भइरहेको समयमा दलितहरूको परम्परागत सीप र अनुभवलाई संस्थागत गरी पुँजी बजारमा जोड्न सकिने विषय हटाउनु दुःखद भएको बताए।
उनले वैदेशिक रोजगारबाट फर्किएका युवाको सीप, ज्ञान र पुँजी सदुपयोग गरी स्वदेशमा पुँजी निर्माणका बारेमा नीति तथा कार्यक्रममा केही उल्लेख नभएको बरु विगतका सरकारले ल्याएको कार्यक्रम हटाएको आरोप लगाए।
राष्ट्रियसभा सदस्य सार्कीले सरकारको नेतृत्वप्रति जनताले हेर्न दृष्टिकोण नकारात्मक रहेको भन्दै नसच्याउने हो भने देश दुर्घटनाको नजिक भएको बताए।
देशमा आउनसक्ने सम्भावित जटिल परिस्थितिबाट बचाउन सबै राजनीति दलहरूले छलफल गरी समझदारी कायम गर्नुपर्ने उनको भनाइ छ।