खोटाङ :
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) खोटाङले प्रत्यक्षतर्फ गुणराज राजभण्डारीलाई उम्मेदवारका रूपमा सिफारिस गरेको छ।
एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको खोटाङमा हालसम्म नेकपा एमाले, नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टीसहित अन्य दलहरूले आफ्ना उम्मेदवार सार्वजनिक गरेका छैनन्।
सिफारिस भएका राजभण्डारी चलचित्र निर्माता तथा समाजसेवीका रूपमा परिचित छन्। उनले आगो–२, वीरयोद्धा, माया यो कस्तो माया लगायतका नेपाली चलचित्र निर्माण गरिसकेका छन्।
वि.सं. २०५१ सालदेखि विद्यार्थी संगठनमार्फत राजनीतिमा सक्रिय रहेका राजभण्डारी वि.सं. २०८० सालमा राप्रपा युवा संगठनको केन्द्रीय उपाध्यक्ष बनेका थिए। हाल उनी राप्रपा युवा विभागका केन्द्रीय उपाध्यक्षका रूपमा कार्यरत छन्।
आगामी निर्वाचनमा प्रत्यक्ष उम्मेदवारी दिने तयारीमा रहेका राजभण्डारीले सबै वर्ग र समुदायको सेवा गर्ने लक्ष्यसहित चुनावी प्रतिस्पर्धामा उत्रिने बताएका छन्।