काठमाडौँ,
नेपालको मौलिक तथा लोकप्रिय तरकारी गुन्द्रुकको व्यावसायिक उत्पादन र बिक्री वितरणमा अब कडाइ हुने भएको छ । सरकारले पहिलो पटक गुन्द्रुकको गुणस्तर निर्धारण गरेको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३ ले दिएको अधिकार प्रयोग गर्दै गुन्द्रुकको मापदण्ड तोकेको मन्त्रालयले जनाएको छ ।
फल तथा सागपात पदार्थहरूको समूहअन्तर्गत गुन्द्रुकलाई समावेश गरिएको छ । आगामी छ महिनादेखि लागु हुनेछ ।
कस्तो हुनुपर्छ गुन्द्रुक?
मापदण्ड अनुसार रायो, तोरी, मूला आदिको पात तथा ढुकुबाट गुन्द्रकु बनाउन सकिनेछ । यी वस्तुलाई ओइल्याएर नुनरहित प्राकृतिक वा प्योर कल्चर ल्याक्टिक एसिड किण्वन विधिद्वारा अमिल्याएपछि तयार भएको ताजा वा सुकाइएको पदार्थलाई गुन्द्रुक मानिनेछ।
सरकारले गुन्द्रुक बनाउँदा फलाम, आल्मुनियम, तामा तथा पित्तलबाट बनेका भाँडा प्रयोग गर्न पूर्ण रूपमा रोक लगाएको छ। बजारमा बेच्न राखिने गुन्द्रुक स्वच्छ, सफा, स्वाभाविक स्वाद र बास्ना भएको हुनुपर्ने मापदण्डमा उल्लेख छ । यसमा ढुसी तथा किरा लागेको तथा बाह्य रौं, भुस, पराल जस्ता जैविक तथा माटो, बालुवा, सिसा, प्लास्टिकजस्ता अजैविक पदार्थ मिसिएको हुनुहुँदैन।
गुन्द्रुकमा कुनै पनि प्रकारको कृत्रिम रङ तथा सुगन्ध राख्न नपाइने मापदण्डमा उल्लेख छ । सुख्खा गुन्द्रुकमा चिस्यान अधिकतम १२ प्रतिशत, कुल भष्म बढीमा १७ प्रतिशत, एसिडमा नघुल्ने भष्म अधिकतम १ प्रतिशत, अम्लता कम्तीमा ०।८ प्रतिशत हुनुपर्नेछ।
गुन्द्रुकलाई खुला रूपमा जथाभावी बेच्न पाइने छैन । गुन्द्रुक प्याकिङका लागि सफा, सुक्खा र फुड ग्रेड को प्याकेजिङ पदार्थ प्रयोग गर्नुपर्नेछ।