सुचना, समाचार र मनोरन्जन

हनुमान नाचले बागलुङ बजार उत्सवमय

बागलुङ/

शनिबारको छिपिँदो साँझसँगै सुरु भएको ऐतिहासिक हनुमान नाचले बागलुङ बजारको किनाराटोल उत्सवमय बन्यो । मानिसहरू अबेर रातिसम्मै ठेलमठेल भएर उक्त नाच हेरे । रैथाने संस्कृतिको आनन्द बटुले । लौरो जुझाउँदै मृदङ्ग र झ्यालीको तालमा नाचिरहेका कलाकारले दर्शकदीर्घाको मन जिते । नाच अवलोकनका लागि गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकसहितका विशिष्ट व्यक्तिहरू पनि किनाराटोल आइपुगेका थिए।

नौ वर्षको अन्तरालमा गत भदौ ११ मा सुरु भएको हनुमान नाच त्यसयता तेस्रोपटक विधिवत् रूपमा नचाइएको हो । भदौ ११ बागलुङ नगरपालिका–३ नारायणचोक, मङ्सिर १५ मा वडा नं २ लोकतान्त्रिकचोक र शनिबार वडा नं ३ किनाराटोलमा नाच निकालिएको हनुमान संरक्षण परिषद्का अध्यक्ष तीर्थप्रसाद श्रेष्ठले जानकारी दिए । यही फागुन १० गते राधाकृष्णटोलमा नाचको तयारी भइरहेको उनले बताए ।

नारायणचोकमा हनुमानको मूर्ति प्रतिस्थापन र पूजाविधि गरेपछि हनुमान नाच सुरु भएको थियो । सोही दिन भीमसेनको मन्दिरमा विशेष पूजाआजा गरी बोका बलि दिने परम्परासमेत रहिआएको छ । नारायणचोकमा मुख्य पूजाआजासहित नाच सुरु गरेपछि बजारका विभिन्न टोलटोलमा पुगेर उक्त नाच देखाउने चलन छ । ‘टोल पूजाका रूपमा त्यो सञ्चालन हुन्छ, माग भए जिल्लाबाहिर पनि पुगेर नाच देखाउन सकिन्छ’, हनुमान नाचका मूलकजी (व्यवस्थापक) ईश्वरप्रसाद मलेपतिले भने, ‘टोल पूजा सकिएपछि यसपालिको हनुमान नाचलाई विधिवत् रूपमा विसर्जन गर्छौँ ।’ यसअघि विसं २०७२ र विसं २०६३ मा हनुमान नाच देखाइएको उनको भनाइ छ ।

Pach Pandav

मेला–महोत्सवमा झाँकीका रूपमा नाच प्रदर्शन गर्ने गरिए पनि विधिवत् रूपमा नाच निकाल्न भन लामो समय कुर्नुपर्ने अवस्था रहेको परिषद्ले जनाएको छ । हनुमान नाच खर्चिलो मानिन्छ । एकैपटक धेरै कलाकार र व्यवस्थापकहरू आवश्यक पर्ने हुँदा तयारीका लागि धेरै समय चाहिने मूलकजी मलेपतिले बताए । उनका अनुसार यसअघि काठमाडौँ, भक्तपुर, पोखरा, भैरहवालगायतका ठाउँमा उक्त नाच प्रदर्शन गरिएको थियो । चैतको अन्तिम मङ्गलबार नाच समापन गर्ने पूर्वयोजना रहेपनि वैशाख–जेठसम्म नाच लम्बिने देखिएको उनको भनाइ छ ।

के हो ऐतिहासिक हनुमान नाच ?
भक्तपुरबाट सुरु भएता पनि हनुमान नाच बागलुङ, बेनीलगायत सीमित ठाउँमा मात्र संरक्षित रहेको संस्कृतिकर्मी प्रेम छोटाले बताए । तीन, पाँच, सात र नौ गरी बिजोर वर्ष पारेर नाच नचाउने परम्परा रहेको उनको भनाइ छ । पौराणिककालका वीर हनुमानको आराधानाले शक्ति प्राप्त हुनुका साथै सुख, समृद्धि प्राप्त हुने विश्वासमा हनुमान नाच नाच्ने गरिएको संस्कृतिकर्मी छोटाले बताए । रामायणका प्रमुख पात्रसमेत रहेका हनुमानमा निहित पराक्रम, वीरता, अनुशासन र भक्तिभावलाई नृत्यको माध्यमबाट प्रदर्शन गरिने उनको भनाइ छ ।

‘नाचमा १३ जोडी कलाकारले हनुमानको स्वरूप धारणा गरेर दिने प्रस्तुति कलात्मक हुन्छ, विभिन्न दस तालमा यो नाच नाचिन्छ’, उनले भने, ‘यो पाँच सय वर्षभन्दा पहिले भक्तपुरबाट सुरु भएको नाच हो, पछि त्यहाँबाट बागलुङ बसाइँ सरेर आएका नेवारहरूले हनुमान नाचको संस्कृति पनि सँगै ल्याए ।’ बागलुङमा नेवार समुदायको इतिहास झन्डै तीन सय ५० वर्ष पुरानो छ ।

विसं १७ सय ६८ मा पहिलोपटक नेवार जाति बागलुङ प्रवेश गरेको इतिहासमा उल्लेख रहेको संस्कृतिकर्मी छोटाले बताए । उनका अनुसार मल्लकालीन समयमा भक्तपुरका राजा भुपतिन्द्र मल्लले हनुमान नाच सुरु गरेका थिए । हनुमान नाच मङ्गलबार, बिहीबार र शनिबार मात्र नाच्न मिल्ने परम्परा छ । पछिल्लो समय नेवारबाहेक अन्य समुदायका कलाकारले पनि नाचमा भाग लिने गरेका छन् ।

Leave A Reply

Your email address will not be published.