काठमाडौं :
दशैंको फूलपाती अर्थात् असोज १३ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘हरिबहादुरको जुत्ता’ ले रिलिजको पहिलो हप्तामै जबरजस्त प्रदर्शन वृद्धि गरेको छ। सुरुवाती समयमा अन्य दुई नेपाली चलचित्र ‘बलिदान’ र ‘माइतीघर’को तुलनामा कम शो पाएको यो फिल्म अहिले सर्वाधिक शो पाउने नेपाली चलचित्र बनेको छ।
रिलिजको पहिलो दिन ‘हरिबहादुरको जुत्ता’ लाई देशभर १३४ शो मात्र दिइएका थिए, जबकि ‘बलिदान’ले २४४ र ‘माइतीघर’ले १४४ शो पाएका थिए। तर, सातौं दिन आइपुग्दा स्थिति उल्टिएको छ। शुक्रबार देशभरका चलचित्र हलहरूले ११७ शो प्रदान गर्दै ‘हरिबहादुरको जुत्ता’लाई शीर्ष स्थानमा पुर्याएका छन्। त्यसैबेला ‘बलिदान’ले १०७ र ‘माइतीघर’ले ७७ शो पाएका छन्।

निर्माण टिमका अनुसार, फिल्मको बलियो वर्ड अफ माउथ र दर्शकको राम्रो प्रतिक्रियाले गर्दा हलहरूमा शो संख्या बढाइएको हो। प्रारम्भमा साना सिट क्षमताका हलहरूमा प्रदर्शन गरिएको चलचित्र अहिले ठूला हलहरूमा सारिएको छ।
यद्यपि भारतीय चलचित्र ‘कन्तारा’ ले केही शो संख्या प्रभावित पारेको भए पनि, ‘हरिबहादुरको जुत्ता’ले पहिलो हप्तामै तेस्रो स्थानबाट पहिलो स्थानमा उछाल मार्दै दर्शकको मन जितेको छ।
दिपेन्द्र के. खनाल निर्देशित यो फिल्ममा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सिता न्यौपाने, र कमलमणि नेपाल लगायत कलाकारहरूको अभिनय रहेको छ।
एसएम मोसन पिक्चर्सको ब्यानरमा बनेको चलचित्रका निर्माता सरोज ओली र मोहितवंश आचार्य हुन्। चलचित्रको छायांकन कृष्ण बहादुर थापा, सम्पादन नकुल खड्का, र संगीत वसन्त सापकोटा, दीपक शर्मा, प्रकाश सपुतले गरेका छन्। गीतमा आशिष अविरल, समिक्षा अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाईंको स्वर सुन्न सकिन्छ। फिल्मको प्रदर्शन वृद्धिसँगै व्यापारिक सफलता पनि बलियो रूपमा अगाडि बढिरहेको देखिन्छ।