काठमाडौं :
हरिवंश आचार्य अभिनित फिल्म ‘हरिबहादुरको जुत्ता’को पहिलो झलक ‘पोष्टर’ सार्वजनिक भएको छ। निर्माण पक्षले शुक्रबार बिहानै फिल्मको पोस्टर सार्वजनिक गरेको हो। पोष्टरमा फिल्मका मुख्य कलाकार आचार्यलाई सिंगल रुपमा प्रस्तुत गरेको छ। फिल्मको पोस्टरमार्फत फिल्मको कथालाई स्पष्ट पार्ने कोसिस गरेको देख्न सकिन्छ।
हरिवंशले आफ्नो हास्य टेलिश्रृंखलामा ‘हरिबहादुर’पात्रको भुमिका निवार्ह गर्दा दर्शकले निकै रुचाएका थिए। सोही बमोजिम निर्माण पक्षले यही नामबाट फिल्म निर्माण गरेका हुन्। सोही पात्रलाई झल्को दिने पोष्टर तयार भएको छ। सार्वजनिक पोष्टरलाई शान थापा र विजय बस्यालले तयार गरेका छन्।
यस फिल्ममा हरिवंशका अलवा स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको छ। दिपेन्द्र के खनालको निर्देशनमा तयार भएको फिल्म आगामी दसैंको फूलपाती अर्थात असोज १३ गतेबाट प्रदर्शनमा आउंदैछ।
एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्मलाई सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका छन्। मोहित हरिवंशका छोरा हुन्। कृष्ण बहादुर थापाले खिचेको फिल्मलाई नकुल खड्काले सम्पादन गरेका छन्। वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतको संगीत रहेको फिल्ममा आशिष अविरल, समिक्षा अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाईको स्वर सुन्न सकिन्छ।
