काठमाडौँ,
जलवायु परिवर्तनका कारण नेपालका हिमालहरू तीव्र गतिमा पग्लिरहेको र यसले विश्वकै लागि चिन्ताको विषय बनेको एक संसदीय अध्ययन प्रतिवेदनले देखाएको छ ।
राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समिति अन्तर्गतको दिगो विकास उपसमितिले तयार पारेको ‘जलवायु परिवर्तन सम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ ले हिमाली क्षेत्रको तापक्रम विश्वव्यापी औसतभन्दा तीव्र गतिमा बढिरहेको डरलाग्दो तथ्य सार्वजनिक गरेको हो ।
प्रतिवेदन अनुसार, विश्व समुदायले पृथ्वीको तापक्रम १.५ डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्य लिए पनि सन् २०५० भन्दा पहिले नै हिमाली क्षेत्रको तापक्रम औसतमा १.८ डिग्री सेल्सियसभन्दा बढीले वृद्धि हुने अनुमान छ ।
‘उच्च तापक्रम वृद्धिले गर्दा यस क्षेत्रमा रहेका हिमालका दुई तिहाइ हिम भण्डारहरू पग्लिने अनुमान अध्ययनले गरेकाले यो नेपालको मात्र नभई विश्वका लागि चिन्ता र चासोको विषय बन्नुपर्छ,’ प्रतिवेदनमा भनिएको छ ।
विगत तीन–चार दशकको तथ्याङ्कले हिमालमा प्रतिदशक ०.०५ डिग्री सेल्सियसका दरले तापक्रम बढेको देखाएको छ । यसले गर्दा हिमनदी पग्लिने क्रम तीव्र भएको र सन् १९८० देखि २०१० सम्ममा करिब २५ प्रतिशत हिमनदीको क्षेत्रफल घटेको प्रतिवेदनमा उल्लेख छ ।