सुचना, समाचार र मनोरन्जन

हिउँचितुवा गणना गर्न ५६ ठाउँमा क्यामेरा राखियो

नेपालको एकमात्र शिकार आरक्ष क्षेत्र ढोरपाटनमा पहिलो पटक हिउँचितुवा गणनाका लागि क्यामेरा जडान गरिएको छ ।

१५ दिन लगाएर तीन समूहले तीन हजार २०० मिटरदेखि पाँच हजार ५०० मिटरको उचाइमा पुगेर ५६ सेन्सरसहितको क्यामेरा जडान गरिएको छ । नाउर र झारलको वैधानिक शिकार हुने ढोरपाटन आरक्षको उच्च हिमाली भेगमा हिउँचितुवा पाइने भए पनि अहिलेसम्म गणना हुन सकेको थिएन ।

हिउँचितुवाको यकिन सङ्ख्या पत्ता लगाउन प्राविधिक, सिकार आरक्षको टोली र गणकहरू क्यामेरा जडान गरेर फर्किएका छन् । आरक्षका रेन्जर सागर सुवेदीका अनुसार ५६ क्यामेरा तीन समूहले ६ वटा शिकार ब्लकमा राखेर फर्केको बताउनुभयो । क्यामेराले ४५ दिनसम्म आफैँ फोटो सङ्कलन गर्नेछ ।

ढोरपाटन सिकार आरक्षको तीन हजारदेखि पाँच हजार ५०० मिटरभन्दा माथिसम्म हिउँचितुवाको वासस्थान रहेको पाइएको छ । एक हजार ३२५ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको आरक्षको मुख्यालय बागलुङमा रहे पनि म्याग्दी र रुकुमसम्म फैलिएको छ । वैशाखको ११ गतेदेखि राख्न थालिएको क्यामेरा ४५ दिनपछि सङ्कलन गरेर कार्यालयमा ल्याएर गणना गरिनेछ ।

आरक्षका विभिन्न सिकार ब्लकमध्ये सेङ, सुनदह, दोगाडी, घुस्तुङ, बार्से र फागुने ब्लकमा हिउँचितुवा गणना गर्न क्यामेरा जडान गरिएको हो । रेन्जर सुवेदीका अनुसार हिउँचितुवा हिँड्ने सम्भावित बाटो, चट्टान, घारी र पास क्षेत्रमा स्वचालित क्यामेरा राखेर फोटो कैद गरी फोटोका आधारमा शरीरको धब्बा मिलाएर छुट्टाछुट्टै चितुवाको पहिचान गरिनेछ ।

Leave A Reply

Your email address will not be published.