सुचना, समाचार र मनोरन्जन

केहि कलाकारको सिन बाहेक ‘होस्टेल ३’ को प्रमुख छायाङ्कन सकियो

काठमाडौं :

फिल्म ‘होस्टेल ३’ को प्रमुख छायाङ्कन ४९ दिनमा शुक्रवार सकिएको छ । तर, केही कलाकारहरूको ‘बडी ट्रान्सफर्मेसन’ (शारीरिक परिवर्तन) आवश्यक पर्ने भएकाले अझै एक हप्ताको फुटकर छायाङ्कन बाँकी रहेको निर्देशक सशान कँडेलले जानकारी दिएका छन् ।

हाल फिल्म पोस्ट–प्रोडक्सनको चरणमा रहेको छ। यसअघि फागुन १६ गते रिलिज हुने भनिएता पनि सो मितिमा रिलिज नहुने भएपछि चलचित्रको नयाँ रिलिज मिति छिट्टै घोषणा गरिने जानकारी पनि निर्माण टिमले दिएको छ।

‘होस्टेल ३’ फिल्म ‘होस्टेल’ शृङ्खलाको एक प्रतीक्षित फिल्म हो। यो शृङ्खलालाई नयाँ प्रतिभाको उद्गमस्थलको रूपमा लिइन्छ । यसको तेस्रो शृङ्खला पनि नयाँ कलाकारहरूका लागि नेपाली फिल्म उद्योगमा प्रवेश गर्ने एउटा महत्त्वपूर्ण फिल्म बन्ने विश्वास लिइएको छ। यसमा पारस बम, रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी, उमर खान, समा पराजुली, सन्तोष बानियाँ, रोहन श्रेष्ठ, आशिष पुरुषलगायतका कलाकारहरूको अभिनय रहेको छ।

‘होस्टेल’ शृङ्खलाबाट उदय हुनेहरूमा अनमोल केसी, स्वस्तिमा खड्का, सुशील श्रेष्ठ,नजिर हुसेन, सलोन बस्नेत, प्रकृति श्रेष्ठ, सुशील सिटौला लगायत पर्छन्। ‘होस्टेल ३’ को स्क्रिप्ट माधव शर्माले लेखेका छन् भने कथा निर्देशक कँडेलकै हो।

सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा निर्माण गरेको यो फिल्मलाई अर्जुन तिवारी डिओपी, बुद्ध थापा र मनोज खत्री सिनेमाटोग्राफर, सुदिप कुँवर मुख्य सहायक निर्देशक, यम प्रसाद ओली प्रोडक्सन डिजाइनर, शङ्कर कोइराला कार्यकारी निर्माता, कर्ण कार्की र गोविन्द अधिकारी निर्माता र सुरेश कँडेल सह–निर्माता हुन् ।

Leave A Reply

Your email address will not be published.