Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- कास्कीको नयाँ प्रमुख जिल्ला अधिकारीमा कुमानसिंह गुरुङ
- सरकारप्रति महानायक राजेश हमालको कटाक्ष: ‘नेतृत्वमा परिपक्वता र दूरदृष्टि नहुँदा राष्ट्र संकटमा पर्न सक्छ’
- चलचित्र पत्रकारिताको स्तर सुधार्न पत्रकार संघको नयाँ जमर्को: फिचर लेखन प्रतियोगिताको पुरस्कार राशि २० हजारसम्म
- डी सिने अवार्डमा ज्ञानेन्द्र देउजा र निरुता सिंह सम्मानित, मिलन चाम्स उत्कृष्ट निर्देशक
- छाया सेन्टरमा चिनियाँ चलचित्र महोत्सव :६ उत्कृष्ट फिल्म हेर्न ओइरिए १४ सय दर्शक
- कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
- स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने
- रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
- कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
- ग्रिन पोखरा, क्लिन पोखराः छ हजार बढी बोटबिरुवा रोपियो
नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास
बागलुङ,
बागलुङको बडिगाड गाउँपालिकामा नेपालमै पहिलोपटक खाना पकाउने प्रयोजनका लागि हरित हाइड्रोजन ग्यास उत्पादन गर्ने प्रविधिको विकास गरिएको छ ।
खेर गइरहेको विद्युत् र पानीको प्रयोग गरी उत्पादन गरिएको हाइड्रोजन ग्यासको सफल परीक्षणपछि अहिले सिलिण्डरमा भरेर चुलो बाल्न थालिएको हो । नमूना परियोजनाका रूपमा तीन वर्षअघि सुरु गरिएको अध्ययन तथा अनुसन्धान सफल भएपछि हाइड्रोजन ग्यास उत्पादन गरी व्यावसायिक प्रयोगतर्फ अघि बढाइएको जनाइएको छ । परियोजनाअन्तर्गत उत्पादन गरिएको ग्यासबाट चुलो बालेर सजिलै खाना पकाउन सकिने देखिएको छ ।
त्रिभुवन विश्वविद्यालयसहित विभिन्न देशका विश्वविद्यालय, वैज्ञानिक तथा प्राविधिक संस्थाको सहकार्यमा परियोजना सञ्चालन गरिएको हो । परियोजनाले अब हाइड्रोजन ग्यासको सुरक्षित वितरण प्रणाली र व्यावसायिक विस्तारका विषयमा थप अध्ययन अघि बढाउने जनाएको छ ।
बडिगाड गाउँपालिका–२ स्थित गिरिङ्दिखोला लघु जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् प्रयोग गरी हाइड्रोजन ग्यास निकालिएको हो । विसं २०६६ मा स्थापना भएको उक्त लघु जलविद्युत् आयोजनाको विद्युत् खपत नभई खेर गइरहेको अवस्थामा त्यसैलाई उपयोग गरेर नयाँ प्रविधिको परीक्षण गरिएको हो ।
तीन वर्षदेखि सात वटा साझेदार तथा प्राविधिक संस्थाको सहकार्यमा गरिएको अध्ययनबाट हालसम्म आठ वटा सिलिण्डरमा हरित हाइड्रोजन ग्यास भरिएको छ । एक वर्षअघि गरिएको प्रारम्भिक परीक्षण सफल भएपछि अहिले सिलिण्डरमा सुरक्षित रूपमा भर्ने कार्य थालिएको हो ।
नेपाल इनर्जी फाउण्डेसनका अध्यक्ष मोहनदास मानन्धरका अनुसार पानीमा रहेको अक्सिजन अलग गरी हाइड्रोजन मात्रै निकालेर सिलिण्डरमा भर्ने प्रविधि प्रयोग गरिएको हो । आवश्यकताअनुसार उक्त ग्यास चुलोमा प्रयोग गर्न सकिने उहाँले बताउनुभयो ।
नेपाल इनर्जी फाउण्डेसन, ऊर्जा र वातावरणका लागि महिला सञ्जाल नेपाल, एसएण्डएओ कम्पनी लिमिटेड युके र एचएसएलयु स्विटजरल्याण्ड साझेदार तथा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र काठमाडौँ, बडिगाड गाउँपालिका र गिरिङ्दिखोला लघु जलविद्युत् आयोजनाकोे सहकार्यमा विभिन्न देशका वैज्ञानिक तथा प्राविधिकहरुको सहयोगमा खाना पकाउनका लागि हाइड्रोजन ग्यास उत्पादन गरिएको हो ।
उत्पादन गरिएको हाइड्रोजन ग्यासबाट चुलो बालेर शुक्रबार गण्डकी प्रदेश सरकारका आर्थिक मामिलामन्त्री जीतबहादुर शेरचनले परियोजनाको उद्घाटन गर्नुभएको थियो । मन्त्री शेरचनले हरित हाइड्रोजनले वातावरण संरक्षण, विद्युत् खपत वृद्धि तथा स्वदेशी ऊर्जाबाट खाना पकाउने सम्भावना बढाउने भएकाले यस्ता परियोजनालाई राज्यले नीतिगत रूपमा अघि बढाउनुपर्ने बताउनुभयो ।
नेपाल इनर्जी फाउण्डेसनका व्यवस्थापक डिल्ली घिमिरेका अनुसार उत्पादन गरिएको ग्यास सुरक्षित रूपमा सिलिण्डरमा भर्ने विषयमा मात्रै १८ महिना अध्ययन गरिएको थियो । उहाँले एक केजी हाइड्रोजन ग्यासले सानो परिवारलाई करिब एक सातासम्म खाना पकाउन पुग्ने उहाँको भनाइ छ ।
गिरिङ्दिखोला लघु जलविद्युत् सहकारीको ७५ किलोवाट क्षमताको आयोजनाको पुनर्निर्माण, भवन तथा कुलो मर्मतदेखि ग्यास उत्पादनसम्म आइपुग्दा अध्ययनबाहेक करिब रु एक करोड खर्च भइसकेको घिमिरेले बताउनुभयो ।
गिरिङ्दिखोला लघु जलविद्युत् सहकारीका अध्यक्ष बेलबहादुर थापाले खेर गइरहेको विद्युत्लाई उपयोग गरी उपभोक्ताका लागि खाना पकाउने इन्धन उत्पादन गरिएको बताउँदै अब नागरिकको पहुँचभित्र पर्ने सुरक्षित सिलिण्डर विकास र विस्तारका विषयमा अध्ययन गरिने जानकारी दिनुभयो । स्थानीय विष्णु अर्यालले हाइड्रोजन इन्धनबाट पकाएको खाना स्वादिलो हुनुका साथै खाना छिटो पाक्ने अनुभव सुनाउनुभयो ।
–––
Next Post