सुचना, समाचार र मनोरन्जन

जलवायु न्यायका लागि मुस्ताङबाट साझा घोषणापत्र जारी गरिदै

मुस्ताङ,

जलवायु परिवर्तनको असर हिमालदेखि तराईसम्म बढ्दै गएको विषयमा स्थानीय तहका जनप्रतिनिधिहरूले साझा धारणा बनाउन मुस्ताङमा मन्थन सुरु गरेका छन् ।

घरपझोङ गाउँपालिकाको आयोजनामा मंगलबारदेखि जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु भएको हो । सम्मेलनको उद्घाटन सङ्घीय कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले गरेकी हुन् ।

उद्घाटनअघि सातै प्रदेश तथा विभिन्न स्थानीय तहका जनप्रतिनिधि गाउँपालिका कार्यालयमा भेला भएका थिए । उनीहरू झाँकीसहित सम्मेलनस्थल कभर्डहल पुगेका थिए ।

सम्मेलनमा जलवायु परिवर्तनका कारण हिमाल, पहाड र तराईमा देखिएका फरक–फरक प्रभाव तथा त्यसको सामना गर्न स्थानीय तहले चाल्नुपर्ने कदमबारे छलफल भइरहेको छ । कृषि, पशुपालन, पर्यटन, स्वास्थ्य, शिक्षा, पूर्वाधार तथा पर्यावरणमा बढ्दो जोखिमलाई सम्मेलनले मुख्य विषय बनाएको छ ।

Protin

उद्घाटन सत्रमा प्रधानमन्त्री वालेन्द्र शाहले पठाएको शुभकामना सन्देशसमेत वाचन गरिएको छ । विभिन्न जिल्लाका डेढ दर्जनभन्दा बढी स्थानीय तहका जनप्रतिनिधिले जलवायु परिवर्तनले आफ्ना क्षेत्रमा पारेको प्रभाव र स्थानीय तहले गरिरहेका प्रयासबारे धारणा राख्ने कार्यक्रम छ ।

सम्मेलनले जलवायु सङ्कटलाई वातावरणीय समस्यामात्र नभई स्थानीय जनजीवन र विकाससँग प्रत्यक्ष जोडिएको विषयका रूपमा उठाउने तयारी गरेको छ । हरितगृह ग्यास उत्सर्जन न्यूनीकरणसँगै जलवायु अनुकूलन, जोखिम न्यूनीकरण र प्रभावित समुदायको अधिकारका विषयमा समेत छलफल गरिनेछ ।

सम्मेलनको अन्त्यमा स्थानीय तहहरूको संयुक्त सहभागितामा जलवायु कार्ययोजना तथा जलवायु न्यायका लागि ‘जलवायु घोषणापत्र २०८३’ जारी गर्ने तयारी छ । घोषणापत्रमार्फत जलवायु सङ्कटसँग जुध्न स्थानीय तहले आगामी दिनमा अपनाउने साझा कार्यदिशा तय गरिने आयोजकले जनाएको छ ।

त्यस्तै, यही भदौ १० गते रसुवामा आएको बाढीबाट भएको जनधनको क्षतिलाई पनि सम्मेलनमा जलवायुजन्य जोखिमको सन्दर्भमा समीक्षा गरिनेछ ।

Leave A Reply

Your email address will not be published.