सुचना, समाचार र मनोरन्जन

‘यू सर्टिफिकेट’ सहित आउँदै ‘जनै हराएको मान्छे’

काठमाडौं :

भदौ ६ गते रिलिज हुने चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को कथावस्तु के हो भन्ने विषयमा धेरै दर्शकमा चासो छ। चलचित्रको कथा के हो भन्ने जिज्ञासा दर्शक मात्र होइन, नेपाली सिने वृत्तमै पनि उत्तिकै रहेको देखिन्छ। यस चलचित्रमा विजय बराल, केकी अधिकारी, मिरुना मगर, शुशांक मैनालीलगायतका कलाकारको अभिनय रहेको छ।

यिनले कसको के भूमिका निभाएका छन् र उनीहरूबीचको सम्बन्ध के हो भन्नेबारे निर्माण पक्षले हालसम्म खुलाएको छैन। आर्य र मंगोलियन अनुहार भएका पात्रहरू देखिए पनि तिनीहरूबीचको सम्बन्ध खुलाइएको छैन।

चलचित्रमा विजय बराल मुख्य भूमिकामा छन् भने शुशांक मैनालीले साथीको भूमिका निभाएका छन्। सम्भवत: चलचित्रको शीर्षकमा रहेको ‘जनै’ यी दुई पात्रसँग सम्बन्धित छ। तर, जनै वास्तवमै कसको हो, कसरी हराउँछ भन्ने बारेमा निर्माण पक्षले केही खुलाएको छैन।

त्यसैले, “जनै कसरी हराउँछ?” भन्ने प्रश्न हालसम्म अनुत्तरित नै छ। यसबारे जान्न दर्शकले हलमै चलचित्र हेर्नुपर्ने निर्माण पक्षको भनाइ छ।

‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ भदौ ६ गते देशव्यापी प्रदर्शनमा आउने तयारीमा छ। चलचित्रमा विजय बराल, भोलाराज सापकोटा, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, शुशांक मैनाली, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालगायतको अभिनय रहेको छ।

पेपरक्लिपको ब्यानरमा निर्माण भएको यस चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन्। कार्यकारी निर्मातामा नारायण तिम्सिना, चुडामणि सिवाकोटी, आर.के. मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन छन्। चलचित्रमा थानेश्वर गौतम, अर्जुन पोखरेल, एस.डी. योगी र प्रसान्त सिवाकोटीको संगीत रहेको छ। डीओपी नवीन गुरुङ हुन् भने सिनेमाटोग्राफी कृष्ण परियारको रहेको छ।

चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन्। दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक छन् भने तर्कराज न्यौपाने, रवीन्द्र नेपाल, मोनिका थापा र आकाश केसी सहायक निर्देशकका रूपमा रहेका छन्। निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन्।

गोविन्द शाहीको काफिया फिल्म्स ले चलचित्रको वितरणको जिम्मा लिएको छ। अलटाइम ब्लकबस्टर चलचित्र ‘पूर्णबहादुरको सारंगी’ पछि विजय बराल मुख्य भूमिकामा देखिन लागेको यो वर्षको पहिलो चलचित्र हो।

यसबाहेक, ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ ले सेन्सर बोर्डबाट ‘यू सर्टिफिकेट’ पाएको छ, जसको अर्थ सबै वर्गका दर्शकहरूले चलचित्र हेर्न सक्नेछन्। केन्द्रीय चलचित्र जाँच समितिबाट युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको यस चलचित्रको रनटाइम २ घण्टा २३ मिनेट रहेको छ।


Leave A Reply

Your email address will not be published.