पोखरा : जनप्रिय बहुमुखी क्याम्पस पोखराको आयोजना र विश्वविद्यालय अनुदान आयोग, भक्तपुरको सहयोगमा छात्राहरूको क्षमता अभिवृद्धिका लागि तीन दिने उद्यमशील सहयोगी तालिम सुरु भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि एवं जनप्रिय क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण बिजुक्छेले तालिमको उद्घाटन गर्दै भने ‘छात्राहरूले सीप र उद्यमशील तालिमपछि पढ्दै कमाउँदै गर्न सके विदेशको सपना देख्नु पर्दैन ।’ बिजुक्छेले महिलाहरूको क्षमता अभिवृद्धिका लागि सीप र उद्यम आत्मनिर्भर एवम् स्वरोजगारको शक्तिशाली हतियार भएको हुँदा तालिमले अब्बल बनाउन बताए ।
क्याम्पस प्रमुख कृष्णबाबु बरालले स्वागत मन्तव्य राख्दै क्याम्पसको मुख्य मर्म नै ‘सीप, प्रविधि र उद्यमशीलता : शिक्षामा जनप्रियको गतिशीलता भएको हुँदा प्रशिक्षार्थी छात्रालाई उद्यमशील कर्ममा लाग्न सुझाए । बरालले उद्यम र प्रविधिलाई आत्मसात गरेर स्वरोजगार बन्न सकिने साथै अरूलाई पनि जागिर दिन सकिने जनाए ।
विधाता हस्तकला तथा प्राविधिक तालिम केन्द्रकी सञ्चालक एवं प्रमुख सहजकर्ता सविता श्रेष्ठ रञ्जितले आफ्नै जीवनको उदाहरण प्रस्तुत गर्दै छात्राहरूका लागि उद्यमशील तालिमले शिक्षा र आत्मनिर्भरता दुबै क्षेत्रमा परिवर्तन ल्याउने विश्वास दिलाइन् । उनले आफ्नो अनुभव सुनाउँदै भनिन ‘अर्थशास्त्रमा डिग्रीको पढाइ पूरा गरेँ, सरकारी जागिर त्यागेर सियो धागो समाएँ, उद्यम सुरु गरेको १५ वर्षको अवधिमा ५ हजारभन्दा बढी महिलालाई सीप हस्तान्तरण गर्न पाउँदा नै आफूलाई सन्तुष्ट मिलेको छ ।’
सहायक क्याम्पस प्रमुख नवीनराज खनालले उद्यमशील तालिमले छात्राहरूमा उद्यमशील सोच, स्वरोजगार र व्यावसायिक कौशल विकासमा टेवा पु¥याउने अपेक्षा गरिएको उल्लेख गरे । कार्यक्रम संयोजक दिव्यालक्ष्मी चालिसेले स्नातक तहका छात्राहरूका लागि तालिमले व्यावसायिक क्षमताको विकासमा सघाउने हुँदा प्रशिक्षार्थीहरूको दक्षता हासिल गर्ने मार्ग खुल्ने शुभकामना दिइन् ।
जेठ २६ गतेदेखि २८ गतेसम्म सञ्चालित तालिममा विविएस, विआइएम र विएमटिमका ३० जना छात्राहरूको सहभागित रहेको छ । सहजकर्ता अनुपमा तिवारीले तालिमपछि इच्छुक प्रशिक्षार्थीलाई सीप सिक्न र उद्यम व्यवसाय गर्नका लागि विधाता हस्ताकलाले थप सहजीकरण गर्ने भएको जानकारी उपप्रशासक एकनारायण अर्यालले दिए ।