सुचना, समाचार र मनोरन्जन

कक्षाकोठा बाहिर विद्यार्थीको प्रतिभा खोज्दै जनप्रिय बहुमुखी क्याम्पस

निशा गोदार/पोखरा,

त्रिभुवन विश्वविद्यालयअन्तर्गत पोखराको जनप्रिय बहुमुखी क्याम्पसले आफ्नो ३४औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा आयोजित अतिरिक्त क्रियाकलाप तथा खेलकुद सप्ताहको औपचारिक शुभारम्भ गरेको छ । क्याम्पस प्राङ्गणमा आयोजित एक विशेष समारोहका बीच क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले प्रतियोगिताको उद्घाटन गरे ।

आइतबार बिहान आयोजित उद्घाटन समारोहमा कार्यक्रम सञ्चालक कृष्णप्रसाद त्रिपाठीले प्रमुख अतिथि विजुक्छेलाई भलिबल हस्तान्तरण गरेका थिए । तत्पश्चात् प्रमुख अतिथिले सो बल रेफ्रीहरूलाई औपचारिक रूपमा हस्तान्तरण गरेपछि छात्रछात्रा भलिबल प्रतियोगिता सुरु भएको घोषणा गरिएको थियो ।

वार्षिकोत्सव र विद्यार्थीहरूको प्रतिभा प्रस्फुटनको सन्दर्भलाई जोड्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले भने, ‘हामी ३४ औँ वार्षिकोत्सवको संघारमा छौँ। एउटा शैक्षिक संस्थाका लागि यो केवल वर्ष थपिने दिन मात्र होइन, हाम्रा विद्यार्थीहरू शैक्षिक रूपमा मात्र नभई शारीरिक र मानसिक रूपमा पनि कति सबल बन्दैछन् भनेर समीक्षा गर्ने अवसर पनि हो। किताबी ज्ञानले मात्र विद्यार्थीको व्यक्तित्व पूर्ण हुँदैनस त्यसैले हामीले यो सातालाई उनीहरूको सिर्जनशीलता, अनुशासन र नेतृत्व क्षमता निखार्ने मञ्चका रूपमा उपयोग गरेका छौँ ।’

क्याम्पस प्रमुख कृष्णबाबु बरालले भने, ‘गुणस्तरीय शिक्षासँगै विद्यार्थीको सर्वाङ्गीण विकास क्याम्पसको मुख्य प्राथमिकता हो । ३४ वर्षको गरिमामय इतिहास बोकेको जनप्रिय क्याम्पसले वार्षिकोत्सवको यस अव सरमा विद्यार्थीभित्र लुकेका अन्तर्निहित प्रतिभालाई उजागर गर्न र उनीहरूमा अनुशासन, नेतृत्व क्षमता तथा सिर्जनशीलता अभिवृद्धि गर्न यस्ता गतिविधिले कोसेढुङ्गाको काम गर्नेछन्।’

क्याम्पस प्रशासनका अनुसार आज उद्घाटन खेलका रूपमा भलिबल प्रतियोगिता सुरु भएको छ भने भोलिदेखि अन्य विधाहरू औपचारिक रूपमा सञ्चालन हुनेछन् । जसमा छात्रछात्रा टेबलटेनिस, बास्केटबल, बुद्धिचाल (चेस) लगायतका खेलकुद तथा चित्रकला, हाजिरजवाफ, कविता, वक्तृत्वकला, निबन्ध र नृत्यजस्ता साहित्यिक एवं सांस्कृतिक प्रतियोगिताहरू समावेश छन् ।

अतिरिक्त क्रियाकलाप संयोजक गोपालप्रसाद बरालको सभापतित्वमा सम्पन्न उद्घाटन सत्रपछि सुरु भएका यी गतिविधिहरू वार्षिकोत्सवको मुख्य दिनसम्म चल्नेछन् । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई क्याम्पसले विशेष समारोहका बीच पुरस्कृत तथा सम्मान गर्ने संयोजक गोपालप्रसाद बरालले बताए । क्याम्पसले सम्पूर्ण विद्यार्थीहरूलाई परिचयपत्रसहित अनुशासित भई तोकिएको समय र समूहमा सहभागी हुन आह्वान गरेको छ ।

Leave A Reply

Your email address will not be published.