सुचना, समाचार र मनोरन्जन

जापानका एक चौथाइभन्दा बढी नगरपालिकामा १० प्रतिशतभन्दा बढी जनसंख्या घट्यो

 

जापानका एक चौथाइभन्दा बढी नगरपालिकामा सन् २०२० देखि २०२५ को अवधिमा जनसंख्या १० प्रतिशतभन्दा बढीले घटेको जापानी समाचार संस्था ‘क्योदो न्युज’ले आइतबार जनाएको छ ।

 

समाचारअनुसार, यस्तो गिरावट भएका नगरपालिकाको संख्या अघिल्लो पाँच वर्षको तुलनामा झण्डै दोब्बर भएको छ । सन् २०१५–२०२० मा २४७ नगरपालिका यस श्रेणीमा रहेकामा सन् २०२०–२०२५ मा यो संख्या बढेर ४७७ पुगेको छ ।

 

सबैभन्दा ठूलो जनसंख्या गिरावट मध्य जापानको इशिकावा प्रिफेक्चरस्थित सुजु सहरमा देखिएको छ । सन् २०२४ को शक्तिशाली भूकम्पपछि त्यहाँको जनसंख्या ३४ प्रतिशतले घटेको जनाइएको छ ।

 

उत्तरपूर्वी जापानका इवाते र अकिता तथा पश्चिमी जापानको कोची प्रिफेक्चरका आधाभन्दा बढी नगरपालिकामा पनि जनसंख्या १० प्रतिशतभन्दा बढीले घटेको पाइएको छ ।

 

यो विश्लेषण सन् २०२० को राष्ट्रिय जनगणना र सन् २०२५ को अक्टोबर १ सम्मको प्रारम्भिक जनगणनाका तथ्याङ्कको आधारमा गरिएको हो । यसमा सरकारद्वारा तोकिएका २० प्रमुख सहरका १७१ प्रशासनिक जिल्लासहित कुल एक हजार ८९२ नगरपालिकाको जनसंख्या परिवर्तनको अध्ययन गरिएको छ ।

 

विशेषज्ञहरूले तीव्र जनसंख्या घट्दै जाँदा सार्वजनिक सेवा, स्थानीय अर्थतन्त्र र सामुदायिक संरचनामा नकारात्मक असर पर्ने चेतावनी दिएका छन् । उनीहरूले जापानको तीव्र जनसाङ्ख्यिक परिवर्तनलाई सम्बोधन गर्न प्रभावकारी नीतिको आवश्यकता रहेको बताएका छन् ।

 

यद्यपि २४३ नगरपालिकामा जनसंख्या वृद्धि भएको देखिए पनि अधिकांश क्षेत्रमा जनसंख्या घट्ने प्रवृत्ति जारी रहेको र केवल जन्मदर बढाएर मात्रै यो समस्या समाधान गर्न कठिन हुने विश्लेषणमा उल्लेख गरिएको छ ।

Leave A Reply

Your email address will not be published.