काठमाडौं :
हास्य टेलिश्रृंखला ‘जिरे खोर्सानी’ तथा सानो पर्दाबाट हास्य कलाकारको छवि बनाएका जितु नेपाल मुन्द्रेको उपनामले परिचित छन्। उनलाई दर्शकले बाटोमा या कतै देखे जितु नेपाल भन्दा पनि मुन्द्रेकै उपनामले चिन्ने गरेको छ। दर्जनौ फिल्ममा सहायक पात्र तथा कमेडियन भुमिका अभिनय गरेका छन्।
छक्का पञ्जा टिमबाट बाहिर आएपछि उनले फिल्म ‘ह्यारी की प्यारी’मा अभिनय गरे। उनको यो फिल्म असफल भयो। पहिलो फिल्ममा अभिनेताका रुपमा उदाउन खोजेका उनले सकेनन्। तर गत दसैंमा ‘ज्वाई साब’मा अभिनय गरे तब उनले आफ्नो लुक्स नै परिवर्तन गरे। उनको यो फिल्म हिट बन्यो।
यस पटक उनी अझै फरक लुक्समा दर्शकमाझ आउन लागेको छन्। दयाहाङ राई मुख्य भूमिकामा रहेको फिल्म ‘कार्साङ’मा उनको चरित्र अझै फरक देखिएको छ। यो फिल्ममा जितु दयाहाङको साथीको भूमिकामा रहेको टिजरले प्रष्ट पारिसकेको छ। यो भुमिकामा अभिनयलाई दर्शकले तारिफ गरेका छन्। दीया मास्केसँग उनको जोडी बाँधिएको छ। उनको गाउँले भुमिका तारिफ योग्य नै छ।
‘कार्साङ’मा जितुको जोडी दयाहाङसँग जोडिएको छ । उनी यो फिल्ममा दलित समुदायको पात्रमा रहेको निर्माणपक्षले जानकारी दिएको छ।
बच्चा नभएको दोस एकले अर्कोलाई लगाइरहेको रहस्य यसको टिजरले खोलिसकेको छ । तर, कारण के र समस्या को मा छ भन्ने हालसम्म खुलेको छैन।
यसैबीच, ‘कार्साङ’ले पब्लिसिटी सुरु गरेको छ । पूर्वी नेपालबाट निर्माण टिमले फिल्मको प्रचार थालेको हो। यसमा फिल्मका मुख्य कलाकार जितु नेपाल, सिर्जना निङलेखु, दीया मास्केले पूर्वी नेपाल पुगेर सिनेमा हेर्न दर्शकलाई अपिल गरिरहेका छन्।आम ग्रामीण परिवेशको नेपालीको कथा फिल्म ‘कार्साङ’ले भन्ने भन्दै कलाकारहरूले आफ्नौ ठाउँ समुदायको कथालाई पर्दामा देखिने बताउदै आएका छन्।
यम शेर्पाको लेखन तथा निर्देशनमा निर्माण भएको फिल्म ‘कार्साङ’ शेर्पा समुदायको संस्कृतिमा आधारित रहेको छ। जहाँ अभिनेता दयाहाङ राई, डेब्यु अभिनेत्री सिर्जना निङलेखु,जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ,सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डितलगायतको अभिनय गरेका छन्।
यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा निर्माण भएको सिनेमाका पुरुषोत्तम प्रधानको छायांकार र निर्माता स्वयंम हुन्। फिल्मको सह–निर्मातामा गोविन्द बोहरा, कार्यकारी निर्माता आङछिरिङ शेर्पा तथा लाइन प्रोड्युसर वीरेन्द्र शाही छन् । यहि पुष २६ गते प्रदर्शनमा आउन लागेको फिल्मलाई अन्तर्राष्ट्रिय वितरक अधिकार हुल्या इभेन्टस सुमन पराजुली र सोमलाल थोकरले लिएका छन्। नेपालको वितरणको जिम्मेवारी आरआर फिल्मसले लिएको छ।