सुचना, समाचार र मनोरन्जन

‘जेरी अन टप’को ट्रेलरलाई दर्शकबाट उत्कृष्ट प्रशंसा

काठमाडौँ ।
आगामी असोज ३१ गते प्रदर्शनमा आउने बहुप्रतिक्षित नेपाली फिल्म **‘जेरी अन टप’**को ट्रेलर सार्वजनिक भएको छ। शुक्रबार राजधानीमा आयोजित एक विशेष कार्यक्रममार्फत अनन्या फिल्म्सले फिल्मको ट्रेलर बुढासुब्बा डिजिटलको युट्युब च्यानलमा वर्ल्ड प्रिमियर गरेको हो।

साढे तीन मिनेट लामो ट्रेलरमा फिल्मको ट्राभल लभस्टोरी पृष्ठभूमि उजागर गरिएको छ। ट्रेलरमा अनमोल केसी, आँचल शर्मा, जसिता गुरुङ, भुवन केसी, केदार घिमिरे, सुरक्षा पन्त र उषा खड्गी फिचर्ड छन्। सगरमाथा आरोहण, प्रेम, पारिवारिक सम्बन्ध र संवेदनात्मक कथालाई जोडेर बनाइएको ट्रेलरमा उत्कृष्ट भिजुअल र हिमाली भेगको प्राकृतिक सुन्दरता झल्किने दृश्यहरूले दर्शकको मन जितिरहेका छन्।

सिनेमाटोग्राफर दुलिप रेग्मीले खिचेका दृश्यहरूको प्रशंसा हुँदैछ। दर्शकले ट्रेलरलाई “विजुअली ग्रान्ड र इमोशनली स्ट्रङ” भन्दै सामाजिक सञ्जालमा प्रशंसा गरेका छन्।

ट्रेलर सार्वजनिक भएको केही घण्टामै ‘जेरी अन टप’ युट्युबको मुभी चार्ट ट्रेण्डिङमा पाँचौँ स्थानमा पुगेको छ। ट्रेलरले छोटो समयमै लाखौँ भ्युज र हजारौँ सकारात्मक प्रतिक्रिया बटुलेको छ।

सुयोग गुरुङ निर्देशित फिल्मलाई सरोज न्यौपानेले प्रस्तुत गरेका हुन्। निर्माणमा रोबिन शेरचन, रामकृष्ण श्रेष्ठ, दीपक भण्डारी र भविस्य खड्काको सहकार्य रहेको छ भने फिल्मको कथा हेमराज बिसीले लेखेका हुन्।

चलचित्रको वितरण रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले गर्दै छन्। यसअघि सार्वजनिक फिल्मका गीत र टिजरले पनि उत्साहजनक प्रतिक्रिया प्राप्त गरिसकेका थिए, जसका कारण ‘जेरी अन टप’ हाल नेपाली फिल्म बजारमा अत्यधिक प्रतिक्षित रिलिजका रूपमा हेरिएको छ।

दर्शकहरूले ‘जेरी अन टप’लाई अनमोल केसीको करियरको नयाँ टर्निङ पोइन्टको रूपमा पनि हेर्दै, फिल्मप्रतिको उत्सुकता झन् बढाएका छन्।

Leave A Reply

Your email address will not be published.