काठमाडौं :
गत पौष ४ गतेबाट प्रदर्शनमा आएको नेपाली फिल्म ‘झरीपछिको इन्द्रेणी’ प्रदर्शनको दोस्रो हप्तामा प्रवेश गरेको छ। दोस्रो हप्ताको सुरुवातसँगै फिल्म निर्माण टिमले नेवारी गायक रोजमान महर्जनको स्वरमा रहेको भजन गीत ‘धन्य धन्य लोकेश्वर’ सार्वजनिक गरेको छ।
दर्शकबाट ‘उत्कृष्ट वर्ड अफ माउथ’ पाइरहेको फिल्मले दोस्रो हप्तामा पनि व्यापारमा वृद्धि हुने विश्वास निर्माण टिमले व्यक्त गरेको छ। डेब्यु निर्देशक अर्जुन घिमिरे ‘पाँडे’का अनुसार पहिलो हप्ता उत्साहजनक रहेकाले दोस्रो हप्ता अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ। दर्शकलाई केवल मनोरञ्जन मात्र नभई सन्देशमूलक फिल्म देखाउने लक्ष्य सफल भएको निर्माण टिमको दाबी छ।
शुक्रबार सार्वजनिक गरिएको भजन गीतमा रोजमान महर्जनसँगै शोभा महर्जन र दीपा महर्जनको स्वर रहेको छ भने संगीत संयोजन सुरेन्द्र श्रेष्ठले गरेका छन्। आध्यात्मिक भाव समेटिएको उक्त गीत फिल्मको मूल भावसँग मेल खाने निर्माण टिमको भनाइ छ।
यस फिल्ममार्फत अभिनेता गणेश उप्रेतीले करिब नौ वर्षपछि दमदार कमब्याक गरेका छन्। उनको उपस्थितिले अघिल्लो पुस्ताका दर्शकलाई पुनः हलतर्फ आकर्षित गरिरहेको बताइएको छ। फिल्ममा गणेश उप्रेतीसँगै रमेश उप्रेती,प्रकाश घिमिरे,दीपाश्री निरौला,प्रियना आचार्य (मुन्नी)लगायतको अभिनय रहेको छ। फिल्मको एक गीतमा मोडल अञ्जली अधिकारी र कोरियोग्राफर प्रदीप लामा विशेष भूमिकामा देखिनेछन्।
निर्देशक घिमिरेकै कथामा बनेको यस फिल्मबाट विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यु गरेका छन्। डेब्यु अभिनेता विमोचनको अभिनयको दर्शकले प्रशंसा गरिरहेका छन्। जेसिका अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाकी बहिनीकी छोरी हुन्। बाल कलाकार दिप्सन चिलवालको पनि फिल्ममा अभिनय रहेको छ।
फिल्मको पटकथा तथा संवाद गणेश कार्की र विशाल घिमिरेले लेखेका हुन्। अनिशा सेन्दाङ लिम्बू निर्मात्री रहेको फिल्मको छायांकन बुद्ध थापाले गरेका छन्। नागराज इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको फिल्मले देशको राजनीतिक अस्थिरता, त्यसले जनतामा पारेको प्रभाव तथा नयाँ पुस्ताको आकांक्षा र आक्रोशलाई मुख्य कथावस्तु बनाएको छ। साथै, एक इमानदार कर्मचारी र बाबुको संघर्षपूर्ण जीवनकथा पनि फिल्मले प्रस्तुत गर्नेछ।
फिल्ममा अनु थापा, पंकज खड्का, सिर्जना खड्का, सुवास शर्मा र राम कार्की सह–निर्माताका रूपमा रहेका छन् भने लाइन प्रोड्युसरमा योगेश खतिवडा र विनोद कँडेल रहेका छन्।