काठमाडौं :
निर्देशक ज्ञानेन्द्र देउजा को निर्देशन तथा निर्माणमा बन्ने फिल्म ‘झिँगेदाउ २’ को पहिलो गीतको रेकर्डिङ कार्य सम्पन्न भएको छ। बुधबार सम्पन्न रेकर्डिङमा पछिल्लो समयकी लोकप्रिय गायिका शान्तिश्री परियार र गायक बसन्त थापाले स्वर दिएका छन्।
‘आजलाई नाइ नभन’ बोलको उक्त गीतमा अर्जुन पोखरेलको शब्द, संगीत र एरेञ्ज रहेको छ। गायक थापाले ‘छ माया छपक्कै’ पछि यो दोस्रो पटक नेपाली फिल्मका लागि पाश्र्व गायन गरेका हुन्। संगीतकार पोखरेल र थापाबीच यो पहिलो सहकार्य हो।
निर्देशक देउजाले यसअघि ‘झिँगेदाउ’ फिल्मको चर्चित गीत ‘आगो बिना बिँडी जल्दैन’मा शान्तिश्री परियारसँग सहकार्य गरेका थिए। उक्त गीत लोकप्रिय भएपछि ‘झिँगेदाउ २’ मा पनि परियारलाई ‘लक्की चार्म’को रूपमा समावेश गरिएको बताइएको छ।
निर्माण टिमका अनुसार, आगामी १० दिनभित्र फिल्मको प्रि(प्रोडक्सन कार्य सम्पन्न गरिनेछ। त्यसपछिको चरणमा दशैं–तिहार लगत्तै छायांकन सुरु गर्ने तयारी भइरहेको छ।
निर्देशक देउजाका अनुसार, ‘झिँगेदाउ २’ को कथा पहिलो भागको अन्त्यबाट नै सुरु हुने भएकाले यो पूर्ण रूपमा सिक्वेल फिल्म हो। चलचित्रमा प्रमुख भूमिकामा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल, कुशल बिष्ट लगायत पहिलो भागका अधिकांश कलाकार पुनः देखिने छन्। त्यस्तै, यसपटक एक नयाँ अभिनेता र एक नयाँ अभिनेत्रीको प्रवेश हुने जानकारी दिइएको छ।
कपनगढी सिनेमा प्रालिको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता शुलभ प्रतिक देउजा र समीक्षा देउजा हुन्। फिल्ममा ईश्वर घिमिरे प्रोडक्सन हेड रहने छन् भने बिष्णु कल्पितले छायांकन, अर्जुन पोखरेलले संगीत, रोशन श्रेष्ठले द्वन्द्व निर्देशन र मित्र डि। गुरुङले सम्पादनको जिम्मेवारी लिनेछन्। निर्माण टिमले ‘झिँगेदाउ २’ लाई पहिलो भागको लोकप्रियता र दर्शक अपेक्षा अनुरूप उच्च स्तरमा निर्माण गर्ने लक्ष्य लिएको जनाएको छ।