सुचना, समाचार र मनोरन्जन

झुमा लिम्बुले ‘जारी २’ टिमसँग मिलेर ‘रैथाने घुमफिर कन्सर्ट २०८२’ आयोजना गर्ने

काठमाडौं :

गायिका झुमा लिम्बु एण्ड दि रैथाने व्याण्डले आगामी असोज ३ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘जारी २’को सहकार्यमा ‘रैथाने घुमफिर कन्सर्ट २०८२’ आयोजना हुने भएको छ। जसको सुरुवात आगामी भदौ २१ गते काठमाडौंको ठमेलस्थित एलओडी क्लबबाट हुने भएको हो । जहाँ प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘जारी २’को टिमले च्याब्रुङ नाच समेत प्रस्तुत गर्नेछ।

रैथाने घुमफिरमा झुमाले नेपालका विभिन्न १० सशरमा प्रस्तुती दिनेछिन्। जसमा उनको व्याण्डको शोलो प्रस्तुती रहनेछ। त्यसका अलवा जुन ठाउँमा कन्सर्टको आयोजना हुनेछ, त्यहाँको स्थानिय कला संस्कृति र गीत संगीतलाई विशेष प्राथामिकतामा राखिने गायिका लिम्बु बताउँछिन्।

यो सांगीतिक यात्रामार्फत सांस्कृतिक पहिचानलाई प्रवर्धन गर्ने उद्देश्य लिइएको छ। विभिन्न सहर र गाउँमा पुगेर स्थानीय लोकसंगीत हाक्पारे पालाम, च्याब्रुङ, घाँटु, सोरठी, देउडा, मारुनी लगायत संगीत र नृत्यलाई केन्द्रमा राखेर सांगीतिक प्रस्तुति हुनेछ।

लोकसंगीत, केवल मनोरञ्जनको माध्यम मात्र नभई नेपालको मौलिक सांस्कृतिक जीवनशैली, इतिहास र सामुदायिक एकताको प्रतिविम्ब भएको गायिका लिम्बुले बताइन् । ‘यो यात्राले संस्कृति र संगीतलाई नयाँ पुस्तामा पुर्याउने आशा लिएका छौं। ‘रैथाने घुमफिर’ले गाउँ र सहरको संगीत र संस्कृतिलाई जोड्न एउटा पुलको रूपमा उभिनेछ’ उनले भनिन्।

यो रैथाने घुमफिर यो वर्ष नेपालमा मात्रै आयोजना हुनेछ । अर्को वर्ष यसलाई विदेशमा समेत लैजाने योजना गायिका झुमा लिम्बुको छ । हरेक प्रस्तुतिमा स्थानीय कलाकार, वाद्यवादन र संस्कृतिको सम्मान गर्दै विविधता प्रदर्शन गरिने बताइएको छ। ‘रैथाने घुमफिर’का अन्य कार्यक्रम बिस्तारै सार्वजनिक गरिने बताइएको छ।

Leave A Reply

Your email address will not be published.