पोखरा,
जिल्ला समन्वय समिति (जिसस) कास्कीले अन्नपूर्ण गाउँपालिकामा लागत साझेदारीमा सञ्चालित विभिन्न विकास आयोजनाको अनुगमन गरेको छ।
जिसस कास्कीका प्रमुख लिलाधर पौडेलको नेतृत्वमा मंगलबार गएको टोलीले जिसस कास्कीको ६० प्रतिशत र अन्नपूर्ण गाउँपालिकाको ४० प्रतिशत लागत साझेदारीमा निर्माणाधीन तथा सम्पन्न आयोजनाको अनुगमन गरेको हो।

अनुगमनका क्रममा अन्नपूर्ण गाउँपालिका–३ को वडा भवनको ट्रस निर्माण, बहादुरे माध्यमिक विद्यालयको चमेना गृह निर्माण, वडा नं. ६ स्थित संगम माध्यमिक विद्यालयको भवन मर्मत तथा वडा नं. १ को स्वास्थ्य चौकी तथा वडा कार्यालय भवनको कम्पाउन्ड पर्खाल एवं तारबार निर्माण योजनाको स्थलगत निरीक्षण गरिएको जिसस कास्कीले जनाएको छ।
अनुगमनका क्रममा जिसस कास्कीका प्रमुख पौडेलले कतिपय आयोजनामा निर्धारित मापदण्ड तथा निर्माण गुणस्तर अपेक्षाअनुसार नदेखिएको भन्दै तत्काल सुधार गर्न निर्देशन दिनुभयो। उहाँले विकास निर्माणका योजनामा गुणस्तरसँग कुनै सम्झौता गर्न नहुने बताउँदै उपलब्ध बजेट तथा लगानीको उच्चतम सदुपयोग सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो।
अनुगमन टोलीमा अन्नपूर्ण गाउँपालिका क्षेत्रबाट प्रतिनिधित्व गर्ने जिसस कास्कीका सदस्यद्वय बालिका सुवेदी र गणेशबहादुर जिसी, जिल्ला समन्वय अधिकारी नवराज बराल, इन्जिनियर महेश पोखरेलसहित प्राविधिक तथा कर्मचारी र स्थानीय जनप्रतिनिधिको सहभागिता रहेको थियो।