सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

मेडिकल लाइनको जागिर छाडेर पर्यटन व्यवसायमा सक्रिय कमला

“अरुको निर्देशनमा चल्नुभन्दा आफ्नो निर्देशनमा चल्नुको स्वतन्त्रता बेग्लै हुँदोरहेछ । आफु व्यवसायी भएर अरुलाई जागिर दिँदाको आनन्द फरक छ । जागिर भन्दा व्यवसायमा छुट्टै आत्मसन्तुष्टि मिल्छ ।”

सन्तोष बस्याल
पोखरा ।

पोखरा यसै पोखरा भएको होइन । यहाँको प्राकृतिक सौन्दर्यता सँगै पर्यटन व्यवसायमा लागेकाहरुको देन पनि महत्वपूर्ण छ । खासगरी पोखरामा आन्तरिक र बाह्य पर्यटक भित्र्याउने बाटोमा यहाँका पर्यटन व्यवसायीहरु लागि परेको देख्न सकिन्छ । उसो त पोखरामा पर्यटन क्षेत्रमा लगानी गर्नेहरुको जमात बढ्दो नै छ । लगानी सँगै व्यवसाय नै छाडेर पर्यटन क्षेत्रबाट विलिन हुनेहरु पनि नभएका होइनन् । तर जस्तो सुकै आँधीहुरी बतास आएपनि निरन्तर पर्यटन व्यवसायमा अडिक हुनेहरु पनि यहाँ भेटिन्छन् ।

यस्तैमा एक हुन् कमला गिरी । पर्यटन व्यवसायी महिला संघ (टेवान) को अध्यक्ष समेत रहेकी गिरीको जन्म वि.सं. २०३७ साल फागुन १२ गते बागलुङको बलेवामा आमा भीममाया गिरी र बुबा खगराज गिरीको कोखबाट भएको थियो । दुई दाजु र दुई दिदी पछि कान्छी सन्तानको रुपमा उनले जन्म लिइन् । विद्यालय स्तरको कक्षा १० सम्मको अध्ययन उनको बागलुङमा नै भयो । त्यसपछि पोखरा मामाघरमा बसेर आफ्नो औपचारिक शिक्षा पुरा गरिन् ।

आमा आध्यात्मिक व्यक्तित्व भएकाले पनि होला सानैदेखि उनी त्यसैअनुरुपको स्कुलिङमा हुर्किन् । अरुको सेवा गर्नु धर्म हो, सेवा गरे मेवा मिल्छ भन्ने सिकाइबाट उनको बाल्यकाल बित्यो । फलस्वरुप सामाजिक क्रियाकलापमा सानै देखि नै गिरीको लगाव रहयो भन्दा अतियुक्त नहोला ।

मेडिकल लाइनको विद्यार्थी भएर पनि होला गिरीले १२ वर्षसम्म पोखराको पद्मनर्सिङ होममा जागिर गरिन् । उनको व्यवसायिक यात्रा विवाह पछि मात्र सुरु भयो । २०५८ सालमा पोखराका मोहन गिरीसँग विवाह गरिसके पछि उनले जागिर छाडिन् । श्रीमानको एयरलाइन्सको जागिर भएकाले पर्यटन व्यवसायमा आबद्ध हुन उनलाई इच्छा जाग्यो ।

आँटिली स्वभावकी कमलालाई जागिर भन्दा पनि व्यवसायमा रमाउन मन लाग्यो । परिवारमा श्रीमान श्रीमति नै जागिरमा हुनुभन्दा व्यवसायमा लाग्नुपर्छ भन्ने सोच पलायो । फलस्वरुप श्रीमानकै सहयोगमा आज भन्दा ११ वर्ष अघि मेट्रोइन टुर्स एण्ड टार्भल कम्पनी दर्ता गरिन् । उक्त व्यवसायबाट पर्यटन क्षेत्रमा उनले पर्दा उघारिन् । श्रीमानको पनि पहिले देखिको रहर भएकाले कमलालाई साथ रहयो ।

कोभिड पछि संचालनमा आएको सुपरस्टोर्समा श्रीमान र आफन्तसँग कमला

अरुभन्दा फरक काम गर्न इच्छुक कमला अन्तत्वगत्व पर्यटन व्यवसायमा हाम फालिन् । सुरुवातको व्यवसायमा नै उनको ठूलो लगानी भयो । करिब दुई करोड लगानीमा गरेको व्यवसाय आज पनि निरन्तर चलिरहेको छ । सुरुवातका समयमा पोखरा काठमाडौं र काठमाडौं पोखराका लागि दुई वटा पर्यटक चढ्ने बस उनीहरुले खरिद गरेका थिए । बस अहिले छैन तर पनि व्यवसायको स्वरुप भने परिवर्तन भएको छ ।

पर्यटन व्यवसायसँगै स्टोर्समा पनि कमलाले लगानी बढाएकी छिन् । ट्राभल सँगै मेट्रो रेमिट, सुमी मनी चेन्जर र मेट्रो सुपरस्टोर्स सँगै सिटी लिक्विड सप समेत संचालनमा छ । कमलाका श्रीमान मोहनले सुपरस्टोर्स र लिक्विड सप सम्हाल्छन भने कमलाले टुर्स एण्ड टार्भल सँगै रेमिट र मनी चेन्जर सम्हाल्दै आएकी छिन् ।

IVF Big

जागिरमा अरु कसैसँग डिपेन्डेन्ट हुनुपर्छ भने व्यवसाय आफुमा निर्भर रहने भनाई उनको छ । भन्छिन्, “अरुको निर्देशनमा चल्नुभन्दा आफ्नो निर्देशनमा चल्नुको स्वतन्त्रता बेग्लै हुँदोरहेछ । आफु व्यवसायी भएर अरुलाई जागिर दिँदाको आनन्द फरक छ । जागिर भन्दा व्यवसायमा छुट्टै आत्मसन्तुष्टि मिल्छ ।” कमलाले ८ जनालाई जागिर दिएकी छिन् ।

प्राकृतिक प्रकोप लगायत अन्य घटनाले प्रत्यक्ष असर पर्यटन क्षेत्रमा परेको बुझाई कमलाको छ । खासगरी कोभिड पछि सुस्तिएको पोखराको पर्यटन क्षेत्रलाई माथि उठाउन यहाँका पर्यटन व्यवसायी चिन्तित समेत देखिन्छन् । त्यसैले पनि होला कमलाले समयानुसार व्यवसायको धार समेत परिवर्तन गरेकी छिन् कोभिडकै समय सुपरस्टोर्समा लगानी गरेर ।

टेवानद्वारा आयोजित तीज सांस्कृतिक कार्यक्रममा प्रमुख  अतिथी कानुनमन्त्री धनराज गुरुङ्ग सहित कमला गिरी

उनका अनुसार व्यवसायीहरुले करोडौं रुपैयाँ बैंक तथा वित्तिय संस्थाबाट ऋण लिएर लगानी गरिरहेको बेलामा व्यवसाय क्षेत्र मारमा पर्दा राज्यबाट सम्बोधन हुन नसक्नु दुखद पक्ष हो ।

‘पर्यटन व्यवसायी माथि आउनु भनेको पर्यटन क्षेत्रमा सुधार हुनु हो । राज्यलाई सबै भन्दा बढी कर बुझाउने क्षेत्र पर्यटन हो । पर्यटन व्यवसायीलाई राज्यले हेर्ने दृष्टिकोण फराकिलो हुनुपर्यो ।’, उनले भनिन् ।

पर्यटन क्षेत्रमा नयाँ नयाँ खालका अवधारणा ल्याउनुपर्ने आवश्यकताको महशुस उनले गरेकी छिन् । पर्यटन व्यवसायीमैत्री कानून निर्माणमा राज्य पक्ष लाग्नुपर्ने धारणा उनको छ ।

नेपाल एशोसिएसन टुर्स एण्ड ट्राभल गण्डकी प्रदेशको द्धितिय उपाध्यक्ष, रोटरी क्लब अफ पोखरा फिस्टेल लगायतका विभिन्न सामाजिक संस्थामा आबद्ध गिरीले महिला दिदीबहिनीहरुमा पहिले र अहिलेमा धेरै परिवर्तन आएको समेत उल्लेख गरिन् । “पहिले घरको चुल्होचौकोमा सिमित महिलादिदीबहिनीहरु अहिले आफै व्यवसायी भएर जागिर दिनेसम्म हुनुभएको छ ।”, उनले भनिन् ।

तर यो नै प्रयाप्त छैन । अझै पनि कुनै न कुनै कारणले महिलाहरुलाई खुम्चिनुपरेको अवस्था छ । पारिवारिक सहयोग नहुँदा घरकै काममा बाँधिएका छन् । अझै पनि घरमै यत्तिकै बसेका महिलाहरुलाई आत्मनिर्भरका लागि केही न केही गर्न सुझाव दिन्छिन् कमला गिरी ।

परिवारमा सबैको कमाई भयो भने आर्थिक रुपमा मजबुत भइने हुँदा सीप विकासका कार्यक्रममा सरिक भएर अगाडि बढ्न उनको अनुरोध छ ।घरको काम बाहेकको बाँकी समय उपयोग गर्न सके आर्थिक हिसाबले समेत सबल बनिने भनाई उनको छ ।

 

Leave A Reply

Your email address will not be published.