सुचना, समाचार र मनोरन्जन

पोखरामा चौथो अन्तरविद्यालय ब्यान्ड प्रतियोगिता: कास्की मोर्डनाइज्ड एकेडेमी ‘ए’ प्रथम

पोखरा,

विद्यार्थीमा लुकेको सांगीतिक प्रतिभा पहिचान, विकास र प्रोत्साहन गर्ने उद्देश्यले पोखरामा आयोजित चौथो अन्तरविद्यालय ब्यान्ड प्रतियोगिता–२०२६ सम्पन्न भएको छ।

पोखरा सांगीतिक कलाकार संघ, नेपालको आयोजनामा पोखरा सभागृह हलमा सम्पन्न प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीले गायन तथा वाद्यवादनमार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए।

प्रतियोगितामा कास्की मोर्डनाइज्ड एकेडेमी ‘ए’ प्रथम, गुरुकुल विद्यासदन द्वितीय र हिल पोइन्ट सेकेन्डरी स्कुल तृतीय भएका छन्।

व्यक्तिगत विधातर्फ गुरुकुल विद्यासदनका प्रतियोगी उत्कृष्ट गायक, कास्की मोर्डनाइज्ड एकेडेमी ‘ए’का प्रतियोगी उत्कृष्ट गिटारिस्ट तथा प्रतिभा सेकेन्डरी स्कुल ‘ए’का प्रतियोगीले उत्कृष्ट बेसिस्ट र उत्कृष्ट ड्रमरको उपाधि हात पारेका छन्।

Chaka Panja

‘शिक्षासँगै संगीत’ भन्ने भावनालाई आत्मसात गर्दै आयोजना गरिएको प्रतियोगिताले विद्यालय तहदेखि नै विद्यार्थीलाई संगीतसँग जोड्नुका साथै उनीहरूमा रहेको प्रतिभालाई मञ्च प्रदान गर्ने, सिर्जनशीलता र अनुशासन विकास गर्ने तथा सामूहिक सहकार्यको भावना अभिवृद्धि गर्ने उद्देश्य राखेको आयोजकले जनाएको छ।

प्रतियोगितालाई सफल बनाउन पोखरा सांगीतिक कलाकार संघ, नेपालका अध्यक्ष भाइ गुरुङको नेतृत्वमा आयोजक टोली लामो समयदेखि तयारीमा जुटेको थियो। विद्यालयसँगको समन्वय, प्रतियोगी व्यवस्थापन तथा कार्यक्रमको प्राविधिक र सांगीतिक पक्षलाई व्यवस्थित बनाउन आयोजक टोली सक्रिय रहेको थियो।

अध्यक्ष गुरुङले अन्तरविद्यालय ब्यान्ड प्रतियोगितालाई केवल प्रतिस्पर्धाका रूपमा नभई नयाँ पुस्तालाई संगीतसँग जोड्ने र भविष्यका कलाकार उत्पादन गर्ने साझा मञ्चका रूपमा विकास गर्ने उद्देश्य रहेको बताए।

उनले आगामी संस्करणलाई थप व्यवस्थित र व्यापक बनाउँदै लैजाने योजना रहेको समेत जानकारी दिए।

आयोजक संघले प्रतियोगिताका विजेता, सहभागी विद्यालय तथा विद्यार्थीलाई बधाई दिँदै कार्यक्रम सफल बनाउन सहयोग गर्ने विद्यालय, अभिभावक, कलाकार, प्राविधिक, सहयोगी संस्था तथा संगीतप्रेमी दर्शकप्रति आभार व्यक्त गरेको छ।

Leave A Reply

Your email address will not be published.