सुचना, समाचार र मनोरन्जन
Pdms

काठमाडौंमा ‘इकोज अफ हिमालय’ सम्पन्न, लोकधुनमार्फत संस्कृति जगेर्ना गरिने

काठमाडौं :

नेपाली मौलिक लोकसंगीतको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘इकोज अफ हिमालय’ नामक विशेष सांगीतिक कार्यक्रम शुक्रबार साँझ नेपाल पर्यटन बोर्ड, काठमाडौंमा भव्य रूपमा सम्पन्न भएको छ। कासा ब्याण्डको आयोजनामा सम्पन्न कार्यक्रममा म्युजिक नेपालका संस्थापक सन्तोष शर्मा प्रमुख अतिथि तथा नेपाल पर्यटन बोर्डका सीईओ दीपकराज जोशी विशेष अतिथि रहेका थिए। कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा नेपाली लोकधुन, परम्परागत वाद्ययन्त्र, जातीय विविधता र सांस्कृतिक सम्पदालाई समेट्दै नेपाली पहिचानलाई विश्वस्तरमा परिचित गराउने लक्ष्यसहित सांगीतिक प्रस्तुति दिइयो। गायिका अश्मिता परियारको नेतृत्वमा प्रस्तुत यस कार्यक्रममा परम्परा र आधुनिकताको सन्तुलन कायम राख्दै नयाँ पुस्तामा लोकसंगीतप्रतिको आकर्षण बढाउने प्रयास गरियो। अनु गान्धारी, माला वाइबा, विष्णु देव लगायत विभिन्न जातीय पृष्ठभूमिका महिला र युवा कलाकारहरूको सहभागिता उल्लेखनीय रह्यो।

ब्याण्डको टिमले १३ वटा विभिन्न भाषा, कला र संस्कृति झल्काउने प्रस्तुति दिएका थिए। सांस्कृतिक विविधता, महिला सशक्तीकरण र संगीतमार्फत सामाजिक एकता प्रवर्द्धन गर्ने उद्देश्य बोकेको यो कार्यक्रम नेपाली लोकसंगीतको संरक्षणमा महत्वपूर्ण कदमको रूपमा लिइएको छ।

‘इकोज अफ हिमालय’ केवल एउटा सांगीतिक प्रस्तुति मात्र होइन, यो एक सांस्कृतिक आन्दोलन पनि हो जसले हराउँदै गएका परम्परागत धुन, वाद्ययन्त्र र लोकसंवेदनालाई नयाँ जीवन दिने संकल्प बोकेको छ।

Leave A Reply

Your email address will not be published.