सुचना, समाचार र मनोरन्जन

‘कोहिनूर’ सानो भूमिकामा अभिनय गरेका नारायण ‘नम्बरी सुन’का निर्माता

काठमाडौं :

कलाकार तथा निर्माता नारायण खाती पेशाले सुन व्यवसायी हुन्। फिल्म ‘कोहिनूर’मा सानो भूमिकामा अभिनय गरेर नेपाली फिल्म क्षेत्रमा पाइला चालेका नारायण यही साउन २५ गतेबाट रिलिज हुने फिल्म ‘नम्बरी सुन’बाट निर्माताका रुपमा ‘डेब्यू’ गर्दैछन्। यो फिल्ममा उनले नायक गौरव पहाडीको बुवाको भूमिकामा अभिनय गरेका छन्।

नारायण आफ्नो नै सुन व्यवसाय रहेकाले त्यही पेशालाई प्रेरणा दिन र इतिहासलाई चिनाउन ‘नम्बरी सुन’ निर्माण गरेको बताउँछन् । ‘फिल्मको कन्सेप्ट मेरै हो । यो वास्तविक कथा हो । यसमा सुनको इतिहास छ । परापूर्व कालमा सुनको काम कसरी अगाडि बढ्यो, कालीगढी काम कसरी बढ्यो भन्ने कुरालाई फिल्ममा देखाएका छौं’, उनी भन्छन्, ‘सुन जन्मदेखि अन्त्यसम्ममा लगाउनुपर्छ । त्यसको आफ्नै इतिहास छ । त्यो इतिहास दर्शकले यो फिल्ममा हेर्न पाउनुहुन्छ ।’

निर्माता खातीले फिल्ममा काजीकी छोरी र कालीगढको छोराको प्रेमलाई पनि हेर्न पाउने खुलाए । ‘फिल्ममा वनावटी केही छैन । सबै वास्तविक कथा हो’, नारायण भन्छन् ।

सानैदेखि कलाकारितामा रुची राख्ने नारायणको आफ्नै युट्युब च्यानल छ । त्यही च्यानलमा उनले निर्माण गरेका सिरिज छन् । निर्देशक राजु गिरीसँग सिरिजकै काम गरिरहँदा नारायणको भेट भएको रहेछ । ‘मेरो सिरिजमा उहाँले निर्देशन गर्नुहुन्थ्यो । उहाँलाई फिल्म बनाउने चासो देखाएपछि ‘म गरिदिन्छु’ भन्नुभयो । सँगै काम गरिरहेको मान्छेसँग काम गर्न सजिलो हुन्छ भनेर राजुजीसँग सहकार्य गरें’, नारायणले भने ।
एउटै फिल्ममा आफैं निर्माता र कलाकार रहँदा निकै चुनौती अनुभव भएको नारायणले सुनाए । ‘निर्माताका रुपमा मेरो पहिलो फिल्म हो । निर्माता र कलाकार दुवै अनुभव बटुलें । तनाव धेरै हुँदो रहेछ । फिल्ममा ठूलै पैसा लगानी भएको छ’, नारायण भन्छन्, ‘काममा कोही पनि कलाकारले कम्प्रोमाइज गर्नुभएन ।’

नारायण अझैं फिल्म बनाउन चाहन्छन् । त्यो चाहना भने ‘नम्बरी सुन’ले पुरा गर्नुपर्ने उनको बुझाई छ । ‘नम्बरी सुनले लगानी उठाउनेमा आशावादी छु । यो फिल्म रिलिजपछि लगानी रिटर्न गर्छ भन्नेमा ढुक्क छु । लगानी रिटर्न गरेपछि मात्र अरु फिल्म बनाउने योजना छ’, नारायण भन्छन्।

नारायणका अनुसार दिवंगत अभिनेता श्रीकृष्ण श्रेष्ठका दाजु मीनकृष्ण श्रेष्ठ उनका साथी हुन् । ‘मीनकृष्णको टिमले कोहिनूर बनाएपछि त्यो फिल्ममा सानो भूमिकामा अभिनय गरें । श्रीकृष्णको निधन नभएको भए त्यो टिमसँग मिलेर अहिलेसम्म मैले झण्डै चारवटा जति फिल्म निर्माण गरिसक्थें’, उनी भन्छन् ।

फिल्म ‘कोहिनूर’ सुटिङका समयमा श्रीकृष्णका दाजु मीनकृष्णसँग नारायणको फिल्म बनाउने सल्लाह पनि भएको रहेछ । ‘मीनजीले ‘नारायणजी हामी मिलेर एउटा फिल्म बनाउनुपर्छ’ भन्नुभएको थियो । मैले ‘हुन्छ । म २५ देखि ३० प्रतिशत लगानी गर्छु’ भनेर वचन पनि दिएको थिएँ । तर श्रीकृष्णको निधनपछि सबै कुरो तितरवितर भयो’, नारायण सम्झन्छन् ।

Leave A Reply

Your email address will not be published.