सुचना, समाचार र मनोरन्जन

लुम्बिनी लाभाजले भित्रायो रसियन आउटसाईड हिटर ‘भेरोनिका जुवरेभ’

पोखरा :

नेपाल भलिवल संघ र इन्फिनिटी ड्रीम्स प्रा.लि.को संयुक्त आयोजनामा भदौ २० देखि २८ गतेसम्म पोखरामा आयोजना हुने दोस्रो संस्करणको वात्सल्य एभरेष्ट महिला भलिवल लिग २०८२ का लागि लुम्बिनी लाभाज टिमले तीन जना विदेशी खेलाडी अनुबन्ध गर्ने भएको छ।

टिमले हालसम्म रसियन आउटसाइड हिटर भेरोनिका जुवरेभलाई अनुबन्ध गरिसकेको छ। उनी बलियो मिडल ब्लकरका रूपमा चिनिन्छिन् र रसियाका विभिन्न शीर्ष लिग तथा क्लबहरूमा प्रभावशाली प्रदर्शन गरिसकेकी खेलाडी हुन्। ब्लकिङ क्षमतामा पारंगत जुवरेभको नेट अगाडिको उपस्थिति निर्णायक हुने विश्वास गरिएको छ।

एभरेष्ट स्पोट्र्स म्यानेजमेन्ट प्रा. लि. अन्तर्गतको लुम्बिनी लाभाजले बाँकी दुई विदेशी खेलाडीको नाम चाँडै सार्वजनिक गर्ने जनाएको छ। टिम म्यानेजर स्तुती निरौलाका अनुसार तीमध्ये एक किर्गिस्तान र अर्का रसियाकै मिडल ब्लकर हुनेछन्। विदेशी खेलाडीको आगमनले टोली थप सशक्त बन्नेमा टिम विश्वस्त छ।

यसअघि सम्पन्न अक्सनमार्फत टिमले नेपाली राष्ट्रिय महिला भलिवल टोलीकी कप्तान अरुण शाही सहित कमला विष्ट, अलिसा मानन्धर, सान्तीकला तामाङ, अनुसा चौधरी, रोमा महतो, जेनिसा विश्वकर्मा र रिकजना माझीलाई अनुबन्ध गरिसकेको छ। हाल टिमका सम्पूर्ण खेलाडीहरू नियमित प्रशिक्षणमा छन्।

लुम्बिनी लाभाजले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूको सशक्त संयोजनमार्फत दर्शकहरूलाई उत्कृष्ट प्रदर्शन प्रस्तुत गर्ने लक्ष्य राखेको छ। वात्सल्य एभरेष्ट महिला भलिवल लिगको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ।

Leave A Reply

Your email address will not be published.