पोखरा :
आउँदो भदौ १३ र १४ गते आयोजना हुन लागेको तेस्रो अन्तरविद्यालय ब्यान्ड प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्थाले जानकारी दिएको छ। शनिबार सम्पन्न बैठकपछि संस्थाका अध्यक्ष हर्कराज गुरुङ (भाइ) ले सम्पूर्ण तयारी सम्पन्न भइसकेको जानकारी दिनुभयो।
“शिक्षासँगै संगीत” भन्ने मूल नारासहित आयोजना गरिँदै आएको सो प्रतियोगिताको उद्देश्य विद्यार्थीहरूमा लुकेको प्रतिभा उजागर गरी नेपाली संगीत क्षेत्रलाई योगदान पुर्याउनु रहेको आयोजकले जनाएको छ।
प्रतियोगितामा विजयी विद्यालयहरूले नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रथम हुने विद्यालयले एक लाख रुपैयाँ, द्वितीय हुनेले पचास हजार रुपैयाँ र तृतीय हुने विद्यालयले पच्चीस हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्।
त्यसैगरी, उत्कृष्ट गायन गर्ने विद्यार्थीलाई पाँच हजार रुपैयाँ, ट्रफी, प्रमाणपत्र र एक वर्षको निःशुल्क इन्टरनेट सेवा प्रदान गरिनेछ। यस्तै, उत्कृष्ट लिड गिटारवादक, बास गिटारवादक र मादलवादक (ड्रमर) लाई पनि जनही पाँच हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्रदान गरिने संघका सचिव अमित गुरुङले जानकारी दिनुभयो।
कार्यक्रममा ध्वनि व्यवस्थापनको जिम्मा एस.के. ध्वनि प्रणालीले लिएको छ भने मञ्च सजावटको जिम्मा परिचय प्रचार संस्थाले लिएको कार्यक्रम संयोजक तथा संस्थाका प्रथम उपाध्यक्ष टोपबहादुर खत्री (तेज) ले जानकारी दिनुभयो।
