सुचना, समाचार र मनोरन्जन

सहयोगले जगायो आशा जीवन फेरि मुस्कुराउन सक्छ : नवल खड्का

काठमाडौं :

खोटाङ सेवा समाज काठमाडौं ले मुखको क्यान्सरलाई आर्थिक सहयोग गरेको छ। एक विशेष कार्यक्रम आयोजना गरी क्यान्सर पिडित खोटाङ जिल्ला बराहपोखरी जन्मेका हाल सुनसरीको राजाबासमा बसोबास गर्दै आएका दीपक खत्री (बन्जरा)लाई आर्थिक सहयोग गरेको हो।

३४ वर्षिय खत्रीलाई खोटाङ समाजले सात लाख छब्बीस हजार आठ सय बत्तीस रुपैयाँ संकलन गरि हस्तान्तरण गरेको फिल्म समाजका अध्यक्ष तथा अभिनेता नवल खड्काले बताए।
उनका अनुसार समाजका सदस्य तथा आर्थिक सहयोग समितिका नेपाल संयोजक लोकबहादुर खत्री र माधव खत्री तथा विदेशबाट खडिन्द्र खत्री र राजकुमार खत्रीको संयुक्त पहलमा सञ्चालन गरिएको सहयोग अभियान चलाइएको थियो। सोही अभियानबाट उठेको रकम बिरामीकै उपस्थितिमा समाजको केन्द्रीय कार्यालयमा भेटघाट गर्दै हस्तान्तरण गरिएको हो।

कार्यक्रममा बाबुकाजी डंगोल (वडा अध्यक्ष, मध्यपुर ठिमी नगरपालिका वडा नं १०,गीता तिमल्सिना (केन्द्रीय अध्यक्ष, बन्जारा तथा बन्जाडे समाज नेपाल) लगायत समाजसेवी अष्टे कबे, केदार आले मगर, गोविन्द बल्लभ भट्ट आदिको उपस्थिति रहेको थियो। उनीहरूले पीडितको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रमको सञ्चालन समाजका महासचिव राजु एन राईले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष जगत प्रसाद घिमिरेले राखेका थिए। समाजका अध्यक्ष नवल खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मानवता, करुणा र सहकार्यको उदाहरण प्रस्तुत गर्न सबै एकजुट भएको बताए।

अध्यक्ष खड्काले भने,‘स्वास्थ्य नै जीवनको आधार हो। जब स्वास्थ्य कमजोर हुन्छ, तब परिवार, भविष्य र सपनाहरू सबै प्रभावित हुन्छन्। यस्तो अवस्थामा एउटा परिवारले एक्लैले सबै भार बोक्न अत्यन्त कठिन हुन्छ। तर जब समाज साथ दिन्छ, तब असम्भव जस्तो लाग्ने कुरा पनि सम्भव बन्न सक्छ। सानो सहयोग पनि ठूलो आशा बन्न सक्छ। हामी एकजुट भयौं भने उपचार सम्भव हुनेछ र एउटा जीवन फेरि मुस्कुराउन सक्नेछ।’

कार्यक्रममा उपस्थित सम्पूर्ण सहयोगी तथा शुभेच्छुकहरूलाई धन्यवाद ज्ञापन गरिएको थियो।

Leave A Reply

Your email address will not be published.