पोखरा,
गत भदौ १० गते भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीबाट आहत बनेका रसुवाको उत्तरगया गाउँपालिकाका बाढीपीडितका लागि दक्षिण कोरियाली कलाकार तथा लेखक कु ह्युन किमले ५ हजार किलो चामल सहयोग गरेका छन् ।
परिचय एड्भरटाइजिङको संयोजन र पोखरा महानगरपालिकाको सहजीकरणमा २५ किलो दरका २०० बोरा उच्च गुणस्तरको चामल रसुवाको उत्तरगयाका बाढीपीडितसमक्ष प¥याइनेछ ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले ८० वर्षको उमेरमा पनि कोरियाबाट नेपाल आएर बाढीपीडितको सेवामा समय खर्चिने कलाकार किम र उनको टिमप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरे । राहत अपुग भएको उत्तरगया गाउँपालिकाका पीडितसमक्ष यो सहयोग तुरुन्तै पठाउने प्रतिबद्धता प्रमुख आचार्यले जनाए । किमले बाढीपीडित नागरिकलाई कठिन समयमा सहयोग गर्न पाउँदा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यप्रति आभारी रहेको बताए ।
८० वर्षीय कोरियाली नागरिक किमले कोरियास्थित बुद्धिस्ट एकेडेमी, बुद्धिस्ट रिभ्यु र छेओङयाङ ट्राभल स्कुलका २६ जना सदस्यहरूसँग मिलेर रु ५ लाख रकम जुटाई नेपाल आएर उक्त सहयोग उपलब्ध गराएका हुन् ।


विगत ११ वर्षदेखि भिजिट भिसामा नेपाल आउजाउ गर्दै आएका किमले नेपाललाई आफ्नो दोस्रो घर मान्दै आएका छन् । बाढीको खबर पाएलगत्तै आफू अघिल्लो वर्ष रसुवा हुँदै कैलाश मानसरोवर पुगेको क्षण सम्झिएर सहयोग जुटाउन सक्रिय भएको उनले बताए।
उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्यालले ८० वर्षको उमेरमा पनि कोरियाबाट नेपाल आएर बाढीपीडितको सेवामा समय खर्चिने कलाकार किम र उनको टिमप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरे । राहत अपुग भएको उत्तरगया गाउँपालिकाका पीडितसमक्ष यो सहयोग प्राप्त हुँदा खुशी लागेको बताए । किमले बाढीपीडित नागरिकलाई कठिन समयमा सहयोग गर्न पाउँदा उत्तरगयाका अध्यक्ष माधव अर्यालप्रति आभारी रहेको बताए ।
परिचय एड्भरटाइजिङका प्रबन्ध निर्देशक सोभित बस्यालले यस्ता मनकारी व्यक्तित्वको सहयोगी भावनाको कदर गर्दै लक्षित वर्गसम्म राहत पु¥याउन समन्वय गर्नु संस्थाको सामाजिक दायित्व भएको बताए ।
सन् १९५० देखि १९५३ सम्म चलेको कोरियाली युद्धका क्रममा खाद्यान्न संकट झेलेको कोरियालाई नेपालले मानवीय नाताले चामल पठाएको कथा बाल्यकालमै सुनेका किमका लागि यो सहयोग साढे सात दशक पुरानो भावनात्मक ऋण र कृतज्ञताको सजीव प्रतिविम्ब बनेको छ ।
‘हाम्रा पुर्खालाई ७५ वर्षअघि कोरियाली युद्धको कठिन समयमा नेपालले दिएको चामल सहयोगको गुन अझै सम्झनामा छ । साथीहरूले कफी खाने खर्च बचाएर जुटाएको यो सहयोग नेपालप्रतिको कृतज्ञता हो ।