सुचना, समाचार र मनोरन्जन

पोखरामा ‘कोसेली घर’ सञ्चालनमा, स्थानीय उत्पादनको बजारीकरणमा टेवा पुग्ने विश्वास

पोखरा,

पोखरा महानगरपालिका–९, पृथ्वीचोकमा नवनिर्मित ‘कोसेली घर’को औपचारिक उद्घाटन गरिएको छ।

शुक्रबार आयोजित समारोहबीच पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कोसेली घरको समुद्घाटन गर्नुभएको हो। महानगरपालिकाको सक्रियतामा निर्माण गरिएको कोसेली घरले स्थानीय उत्पादनको प्रवर्द्धन, प्रदर्शन र बजारीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख आचार्यले स्थानीय स्तरमा उत्पादित मौलिक सामग्रीको प्रदर्शन तथा बिक्री–वितरणका लागि कोसेली घर साझा थलो बन्ने बताउनुभयो। विशेषगरी पोखरा भ्रमणमा आउने पर्यटकलाई लक्षित गरी सञ्चालनमा ल्याइएको कोसेली घरमा स्थानीय हस्तकला, घरेलु तथा मौलिक उत्पादनलाई प्राथमिकता दिइने उहाँले जानकारी दिनुभयो।

नगरप्रमुख आचार्यका अनुसार पोखराको सभ्यता, संस्कृति र पहिचानलाई पर्यटकमाझ चिनाउने उद्देश्यले पृथ्वीचोकमा ‘पोखरा घर’ निर्माण गरिएको हो। यस परिसरमा आर्ट ग्यालरी, सूचना केन्द्र, कोसेली घर, घन्टाघर तथा रिफ्रेस्मेन्ट सेन्टरलगायतका संरचना समेटिएका छन्।

कोसेली घर निर्माणमा जग्गादाता तथा अन्य सहयोगीहरूको समेत योगदान रहेको महानगरपालिकाले जनाएको छ। उद्घाटन समारोहमा निर्माणका लागि जग्गा उपलब्ध गराउने जग्गादाता तथा विभिन्न रूपमा सहयोग गर्ने सहयोगीका परिवारलाई सम्मानसमेत गरिएको थियो।

स्थानीय उत्पादनलाई बजारसँग जोड्दै पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुर्‍याउने उद्देश्यले निर्माण गरिएको उक्त संरचनामा महानगरपालिकाले कुल ५ करोड १२ लाख २६ हजार २ सय ४६ रुपैयाँ खर्च गरेको जनाएको छ।

कोसेली घर सञ्चालनमा आएसँगै पोखराको पहिचान झल्काउने स्थानीय उत्पादन तथा हस्तकलालाई एउटै स्थानबाट प्रवर्द्धन र बिक्री गर्न सहज हुने विश्वास गरिएको छ।

Leave A Reply

Your email address will not be published.