सुचना, समाचार र मनोरन्जन

कैलाली पुगेका ओलीले सोधे प्रचण्डलाई : ७० वर्ष पुग्न लाग्नुभयो अहिलेसम्म नसच्चिएको मान्छे कहिले सच्चिने हो ?’

कैलाली :

कैलाली पुगेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डको सरकारबाट विकास र समृद्धि सम्भव नभएको बताएका छन् । आइतबार घोडाघोडीको सुखडमा एमालेको कैलाली जिल्ला अधिवेशन उद्घाटन गर्दै ओलीले वर्तमान सरकार जनताप्रति उत्तरदायी नभएको आरोप लगाए। उनले प्रचण्ड नेतृत्वको सरकारलाई निकम्माको संज्ञा समेत दिएका छन्। अध्यक्ष ओलीले बलियाका पक्षमा मात्र काम गरिरहेको आरोप लगाउदै अहिलेको सरकार निकम्मा भएको बताए।

कार्यकर्तालाई सम्बोधन गर्दै भने,‘अहिलेको यो निकम्मा सरकार हो । यसले केही पनि काम गर्न सक्दैन । यो गरिबलाई हेप्ने, न्याय नदिने, बलियाका पक्षको सरकार हो ।’

उनले अपधारीहरुले सुन क्वीन्टलका क्वीन्टल भित्रेको देख्दा पनि कारबाही गर्न नसकेको आरोप लगाए।
उनले थपे,‘ क्वीन्टलका क्वीन्टल सुन आएको देख्दा पनि यो सरकारले कारबाही गर्न सक्दैन सरकार निरीह छ ।’

ओली अलिक सरोपारामा नै अहिलेको सरकारका प्रधानमन्त्री पुष्पकमल दाहालप्रति आक्रोशित थिए। उनले सुन तस्करीमा संलग्नलाई कारवाही गर्न खोज्दा आफ्नै मान्छे भेटेपछि छाडिदिने गरेको बताउँदै प्रधानमन्त्रीले दाहालले आफ्नो भनाईमा फेल खाएको बताए।
प्रधानमन्त्रीले बिना काम एक वर्ष बिताएको भन्दै ओलीले भाषणमा सच्चिन्छु भन्ने तर सच्चिने कहिले हो भनेर प्रश्न समेत गरेका छन्।

उनले भने,‘यो सरकारले एक वर्ष काम नगरी बितायो । प्रधानमन्त्रीले एउटा पनि राम्रो काम देखाउन सक्नुभएको छैन । उहाँ भाषणमा हामी काम गर्छौ, सच्चिन्छौं भन्नुहुन्छ ।’

ओलीले प्रश्न गर्दै भने,‘तर ७० वर्ष पुग्न लाग्नुभयो अहिलेसम्म नसच्चिएको मान्छे कहिले सच्चिने हो ?’

अहिलेका प्रधानमन्त्रीले राष्ट्रियता, स्वाधीनता र स्वतन्त्रता कमजोर हुँदा पनि बेवास्ता गरेको आरोप लगाए।

Leave A Reply

Your email address will not be published.