काठमाडौँ,
राष्ट्रियसभाका सदस्यहरूले खाना पकाउने ग्याँसको अभावमा नागरिकले खाना खानै नपाउने अवस्था भएकाले समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सदस्य विष्णुदेवी पुडासैनीले ग्याँसको अभावले नागरिकले खाना खानै नपाउने अवस्था भएकाले समस्या समाधान गर्न आग्रह गर्नुभयो । सदस्य कृष्णप्रसाद अधिकारीले खाना पकाउने ग्याँसको कृत्रिम अभाव भएकाले कालो बजारी नियन्त्रणका लागि कडा रूपमा अनुगमन गर्न आग्रह गर्नुभयो ।
सदस्य घनश्याम रिजालले अप्रत्याशित रूपमा पक्राउ गरिएका वरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्नुभयो । सदस्य पदमबहादुर परियारले तनहुँ हाइडो निर्माण गर्दा सेती नदी बहाव परिवर्तन भई समस्या भएकाले समाधान गर्नुेपर्नेमा जोड दिनुभयो ।
सदस्य रुक्मिणी कोइरालाले पाकिस्तानको हिमाल आरोहण गर्दा निधन भएका निर्मल पुर्जासहित छ जना नेपाली र अन्य तीन जनाको निधन भएकामा दुःख व्यक्त गर्नुभयो । सदस्य रेनु चन्दले कञ्चनपुरका आरक्ष पीडितले तीन दर्जन आयोग बन्दा पनि समस्या समाधान नभएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सदस्य विष्णुकुमारी सापकोटाले काठमाडौँ उपत्यकामा घर तथा कोठा भाडा नीति बनाएर घर र डेरा भाडा तोक्न माग गर्नुभयो । सदस्य विष्णुबहादुर विश्वकर्माले कालिकोट जिल्ला नरहरिनाथ गाउँपालिकाका स्थानीयवासीलाई बुधबार यत्तिकै धरपकड गरिएको भन्दै विरोध जनाउनुभयो ।