पोखरा,
क्षेत्री समाज नेपाल पोखरा १८ सराङकोट वडा समितिको चौथो साधारण सभा तथा तेश्रो अधिवेशन सम्पन्न भएको छ ।
क्षत्री समाज पोखरा १८ का अध्यक्ष अम्मर बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि समाजका केन्द्रिय महासचिव कृष्ण बहादुर थापाले राष्ट्र, राष्ट्रियता, सामाजिक सद्भाव र एकताका लागि समाज अगाडी बढिरहेको बताए ।
देश बचाउन, बनाउन र सिमानाको रक्षाका लागि सदियौं देखि भूमिका निर्वाह गर्दै आएको क्षत्री जातिले नेपाल एकिकरण अघिको समयबाटै छोराछोरीहरुलाई गुमाएको र सहिद हुनेहरुको संख्या पनि बढिनै रहेको बताए ।
हरेक आन्दोलनहरुमा देशका लागि, मातृभूमिको रक्षाका लागि, नेपाल र नेपालीका लागि, हरेक परिवर्तनका लागि अग्रमोर्चामा रहेर वीरता प्रदर्शन गर्दै आएको समुदायलाई राज्यले उपेक्षा गरिरहेको बताउँदै थापाले राज्यले गरेको विभेदको अन्त्य नभएसम्म आन्दोलन जारि रहने बताए ।
महासचिव थापाले देशको ठूलो जनसंख्या भएको क्षत्री जातिलाई अन्तराष्ट्रिय स्तरमा चिनाउन आवश्यक भएको बताए । अहिले हाम्रो छोराछोरीहरु वाध्यता, विभिन्न कारणले विदेशमा रहेका छन् । उनले भने, अब उनिहरुलाई समाज जोड्ने काम पनि गरिरहेको बताए । थापाले क्षत्रीहरुको वीरताको प्रतिक युद्ध जितिसकेपछि खेलिने खेल साराङ खेललाई सरकारको सूचिकरणमा राख्न लागि पहल भईरहेको बताए ।
क्षत्री समाज नेपालका अन्तराष्ट्रिय शाखा इन्चार्ज हंशराज ढकालले कतारबाट सन् २०१० मा शाखा बिस्तार भएपछि ७ देशमा शाखा गठन भईसकेको बताए । ढकालले छिट्टै अष्ट्रेलिया, अमेरिका, दक्षिण कोरिया, साइबेरिया लगायतका देशहरुमा शाखा बिस्तारको तयारी भईरहेको बताए ।
उनले दुतावास नभएका मुलुकहरुमा अफ्ठेरोमा परिरहेका क्षत्रीहरु तथा नेपालीलाई आर्थिक, सामाजिक, कानुनी लगायतका सहयोगहरु गर्दै आएको बताए । उनले छिट्टै दुबईमा क्षत्री समाजको अन्तराष्ट्रिय सम्मेलन आयोजनाको संभावनाको खोजि भईरहेको बताए ।
समाजका केन्द्रिय सल्लाहकार प्रेम बहादुर जीसीले क्षत्री एकताको लागि समाजको भूमिका महत्वपूर्ण रहेको बताए । समाजका महानगर अध्यक्ष कृष्ण बहादुर थापाले नयाँ कार्यसमितिको घोषणा गर्दै समाजको गतविधिमा वडाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे ।
कार्यक्रममा वडा समितिका पूर्व अध्यक्ष बेल बहादुर थापा, पोखरा १८ की जनप्रतिनिधि कल्पना ढकाल, श्रीकृष्ण ढकाल, सल्लाहकार याम बहादुर थापा, राधिका खड्का, इन्द्रकुमारी थापा, सल्लाहकार मीन बहादुर क्षत्री लगायतले शुभकामना व्यक्त गरेका थिए ।
साधारण सभाले कमला गोतामेको अध्यक्षतामा नयाँ सिमित चयन गरेको हो । उपाध्यक्षमा शोभा ढकाल, सचिवमा बलराम कुमार जिसी, कोषाध्यक्षमा सावित्री कार्की, सदस्यहरुमा वीरेन्द्र वानिया, निल बहादुर जिसी, पशुपती थापा, सीता थापा, गंगा थापा, इन्दु खड्का, पूजा गोतामे र जमुना थापा रहेका छन् ।
यसअघि कार्यक्रममा सहभागिहरुलाई उपाध्यक्ष बेल बहादुर ढकाल क्षत्रीले स्वागत गरेका थिए । समारोहमा समाजका आजिवन सदस्यहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन समितिका सचिव बलराम जिसीले गरेका थिए ।