पोखरा,सन्तोष बस्याल
नेपाली चलचित्र ‘कुमारी’ अहिले देशभरका सिनेमा हलमा प्रदर्शनरत छ । २०८२ माघ २३ गतेबाट रिलिज भएको यस चलचित्रले मुम्बईको कोठीमा बेचिन पुगेकी एक नेपाली चेलीको संवेदनशील कथा बोकेको छ । चलचित्रमा बेचिएको प्रत्यक्ष दृश्य नदेखाइए पनि कथाको भाव, संवाद र पात्रको मनोदशामार्फत त्यो पीडा प्रभावकारी रूपमा प्रस्तुत गरिएको छ।
मुम्बईको कोठीबाट ज्यान जोगाएर नेपाल फर्किएपछि समाजले ती चेलीलाई हेर्ने दृष्टिकोण, उसले भोग्नुपरेको अपहेलना र त्यही समाजभित्रै अंकुराएको प्रेमकथालाई चलचित्रको मूल कथावस्तु बनाइएको छ । सामाजिक यथार्थ र मानवीय भावनाको संयोजन नै ‘कुमारी’को बलियो पक्ष हो ।
सरल कथा, भावपूर्ण निर्देशन
विकास सुवेदीको कथालाई निर्देशक दिनेश राउतले सरल तर प्रभावकारी ढंगले पर्दामा उतारेका छन्। चलचित्रको सुरुवाती भाग केही सुस्त र बोरिङ लाग्न सक्छ, तर जब कथाले नायिकाको जीवन मोडतर्फ प्रवेश गर्छ, त्यसपछि चलचित्रले आफ्नै लय समात्छ। त्यसपछि दर्शकलाई समय बितेको पत्तै नहुने गरी कथा अघि बढ्छ।
नयाँ अनुहार, प्रभावशाली अभिनय
नायक अभिषेक खड्का र नायिका आकृति राजभण्डारी दुवै चलचित्र क्षेत्रका नयाँ अनुहार हुन्। नयाँ भए पनि उनीहरूको अभिनयमा कच्चापन देखिँदैन। अभिषेक खड्काले आफूलाई दिइएको भूमिकालाई आत्मसात् गर्दै जिम्मेवारीपूर्वक निभाएका छन् भने आकृति राजभण्डारीलाई निर्देशकले अत्यन्त सन्तुलित रूपमा प्रस्तुत गरेका छन्, जसले दर्शकको आँखामा उनी ‘नबिझाउने’ पात्रका रूपमा उभिन्छिन्।
गीत–संगीत र प्राविधिक पक्ष
चलचित्रको अर्को सबल पक्ष यसको गीत–संगीत हो। केयर लिम्बु र लुङ्गा ब्याण्डको प्रस्तुति रहेको “डोको बुन्ने” र “कता छौ” गीतले दर्शकको मन छुन्छ। ब्याकग्राउण्ड म्युजिक कथासँग सुहाउँदो छ भने संवाद डेलिभरी पनि पात्रअनुसार मिलेको देखिन्छ। नेवारी संस्कृतिको झल्को चलचित्रमा समावेश हुनु सकारात्मक पक्ष हो। यद्यपि, छायांकनमा केही ठाउँमा फितलोपन देखिए पनि त्यसले समग्र प्रभावलाई धेरै असर गर्दैन।
सामाजिक सन्देशसहितको प्रेमकथा
‘कुमारी’ले समस्यामा परेकी चेलीलाई प्रयोग गरेर बिचौलियाहरूले कसरी फाइदा उठाउँछन् र ‘डोलरको खेती’ गर्छन् भन्ने यथार्थलाई पनि कथा भित्र समेटेको छ। प्रेम, पीडा, सामाजिक दृष्टिकोण र सरल अभिनयको समिश्रणले चलचित्रलाई सन्देशमूलक बनाएको छ।
निष्कर्ष
समग्रमा ‘कुमारी’ प्रेम, कथा, संगीत र सरल अभिनयको राम्रो मिश्रण भएको हेर्न लायक नेपाली चलचित्र हो। हलमा तिरेको टिकटको पैसा खेर गएको महसुस हुँदैन। यसपालीको भ्यालेन्टाइन डे ‘कुमारी’सँग बिताउन सकिने सम्भावना पनि उत्तिकै छ। पोखराका दर्शकले समेत चलचित्रलाई रुचाएका छन्। शुक्रबार र शनिबार अकुपेन्सी सामान्य रहे पनि सोमबारदेखि चलचित्रले दर्शकको माया पाउन थालेको देखिन्छ। सामाजिक यथार्थ र मानवीय भावनालाई मन छुने गरी प्रस्तुत गर्ने प्रयासका कारण ‘कुमारी’ नेपाली चलचित्रप्रेमीका लागि एउटा राम्रो विकल्प बनेको छ ।
