काठमाडौं :
नेपाली कथानक चलचित्र ‘कुमुदे हिँड्यो हिरो बन्न’ दाङ र काठमाडौंमा करिब २८ दिनको छायांकन सकेर अहिले सम्पादनको चरणमा प्रवेश गरेको छ। बुधबार सम्पादक सन्देश शाहसँग औपचारिक सम्झौता गर्दै सम्पादन कार्य सुरु गरिएको निर्माण टिमले जनाएको छ।
शाहित्यकार तथा गीतकार जानकी पन्त जुनको डेब्यु निर्देशन रहेको यस चलचित्रको कथा सपना देख्ने आँट, चुनौतीलाई अवसरमा रूपान्तरण गर्ने हिम्मत र आत्मविश्वासका वरिपरि घुम्छ। निर्देशक पन्तका अनुसार, “यो यात्रा केवल चलचित्र निर्माणको होइन—एक सपना, एक संघर्ष र आत्म अभिव्यक्तिको धरोहर हो।”
चलचित्रमा कुमुद पन्त प्रमुख भूमिकामा रहेका छन् भने रिचा थापा र रविना परियारले सह-अभिनेत्रीका रूपमा अभिनय गरेका छन्। अन्य कलाकारमा बिष्णु पन्त, रवि गिरी, दिनेश कुँवर, शंकर राज पहाडी, पिताम्बर रिजाल, सचिन भुसाल, रबिन बराइली, किरण मगर पुन र सरस्वती बी.क रहेका छन्।
बाल कलाकार प्रयुश दत्त सुवेदीले शीर्ष पात्र “कुमुदे”को भूमिका निर्वाह गरेका छन्। उनलाई काव्यरस रिजाल, युनिश घिमिरे र युनिका खत्रीले साथ दिएका छन्।
चलचित्र कुमुद इन्टरटेन्टमेन्टको ब्यानरमा निर्मात्री बिष्णु पन्त शर्मा आचार्यले निर्माण गरेकी हुन्। चक्र बहादुर बराल सह-निर्माता र रंग पत्रकार तथा रेडियो प्रस्तोता भोला सुवेदी (आर्जे प्रणव) कार्यकारी निर्माता रहेका छन्।
कार्यकारी निर्माता सुवेदीले यसअघि ‘ज्ञान शास्त्र’ नामक फिल्म निर्माण गरेका थिए। उनले भने, “पहिलो चलचित्र शिक्षा क्षेत्रमा केन्द्रित थियो, अहिले भने रंग पत्रकारितामा पाएको अनुभवका आधारमा एउटा युवाको संघर्षपूर्ण यात्रालाई पर्दामा उतार्ने प्रयास गरेको छु। वास्तविक जीवनका नायक–नायिकासँगको अन्तरवार्ताबाट प्रेरित यो कथा वास्तवमै जीवनसँग नजिकको छ।”
चलचित्रको छायांकन दाङ, पोखरा र काठमाडौंका रमणीय स्थानमा गरिएको हो। निर्देशक पन्तका अनुसार, “यो चलचित्र बायोपिक र सत्यकथामा आधारित छ, जसले नेपाली चलचित्रमा नयाँपन र वास्तविकताको स्वाद दिनेछ।”
उनका अनुसार, दाङकै युवाको कथा भएकाले चलचित्रको पहिलो विशेष शो पनि त्यहीँ गर्न लागिएको छ। चलचित्रमा महिला द्वन्द निर्देशक किरण दाहालको निर्देशनमा रोचक द्वन्द दृश्यहरू समावेश गरिएको छ भने बिपिन आचार्य र ओम सुनारले संगीत तयार पारेका छन्।
उत्तम प्रसाद अधिकारी सह–निर्देशक र सन्देश शाह सम्पादकको रूपमा रहेका चलचित्रको प्रदर्शन मिति २०८३ सालभित्र तोकिएको छ। निर्माण पक्षले यो चलचित्रले नेपाली सिनेमामा नयाँ कथा–विधान, वास्तविकता र प्रेरणादायी यात्रा प्रस्तुत गर्ने विश्वास व्यक्त गरेको छ।